गलकोट । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ समापन गरिएको छ । महायज्ञमा नौ करोड ६९ लाख सङ्कलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणका लागि आयोजित महायज्ञ शनिबार समापन गरिएको छ ।
महायज्ञमा शुक्रबार मात्र एक करोड ३४ लाख सङ्कलन भएको थियो । बिहीबार सबैभन्दा बढी रकम एक करोड ६२ लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले जानकारी दिए । महायज्ञमा रु १० करोड सङ्कलन गर्ने लक्ष्य राखिएकामा लक्ष्यको नजिक पुगेको बताउँदै अझै पनि अनलाइनमार्फत सहयोग आउनेक्रम जारी रहेको उनले बताए।
महायज्ञमा शनिबार सबैभन्दा बढी रकम बागलुङ नगरपालिका–४ उपल्लाचौरका ऋषिराम गौतम तथा सरिता गौतमले छ लाख नौ हजार सहयोग प्रदान गरे । शनिबार आश्रमका चार कोठा निर्माणका लागि एकमुष्ट २० लाख सहयोग प्राप्त भएको छ । आश्रम एक कोठा निर्माणका लागि पाँच लाख ११ हजार संस्थागत रूपमा समेत प्राप्त भएको छ ।



































