काठमाडौं । मधेश प्रदेश सभाका पाँच जना सांसद पदमुक्त भएका छन् । सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले पाँच सांसदलाई पदमुक्त गरेका हुन्।
लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले जनता समाजवादी पार्टी (जसपा)का चार र नागरिक उन्मुक्तिका एक जनालाई पदमुक्त गरिएको सूचना जारी गरेका छन्।
जसपाका सांसद मनिष कुमार सुमन, सप्तरी, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवार तथा नागरिक उनमुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंहमाथि कारबाही गरेका हुन् ।
‘संविधानमा मधेश प्रदेश सभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० यो बमोजिम प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२।०७।२७ गते देखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरुको स्थान रिक्त भएको बेहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावाली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख छ।







































