वीरगञ्ज । मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा (एमाले) बाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री बनेका हुन्।
उनीहरूको पद तथा गोपनीयताको शपथ पनि भइसकेको छ। मुख्यमन्त्री सरोजकुमार यादवपछि प्रदेश प्रमुख भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । एमाले केन्द्रीय सदस्य एवम् संसदीय दल नेता यादवलाई प्रदेश प्रमुख भण्डारीले आइतबार राति नै मुख्यमन्त्रीमा नियुक्त गरेको बुझिएको छ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठूलो दलको रूपमा रहेको छ। एमाले दल नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुख भण्डारी भने काठमाडौं लागेकी छन्।
पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)का अनुसार बर्दिबास र सिन्धुलीको सिमाना स्थित एक होटलमा नियुक्तिपत्र प्रदान गरेकी हुन्। उनी सोमबार बिहान काठमाडौं प्रस्थान गरेकी थिइन्। भण्डारीले आफू अस्वस्थ भएको कारण जनाउँदै काठमाडौं जान लागेको बताएकी थिइन्। तर बर्दिबास र सिन्धुलीको सिमाना पुगेर उनले यादवलाई मुख्यमन्त्री नियुक्त गरिन् र त्यहीँ उनलाई शपथ गराइन्। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ पनि त्यहीँ भयो।
पूर्वमुख्यमन्त्री सोनलले मधेश प्रदेशको जनतासँग धोका भएको प्रतिक्रिया दिएका छन्।







































