काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बहिष्कार गरेर जनार्दन शर्माले ‘वाम प्रगतिशील ध्रुवीकरण अभियान घोषणा’ गर्दै छन् । कमलादीस्थित नेपाल प्रज्ञा भवनमा माओवादीको बैठक बसिरहँदा शर्माले भने बखुण्डोलस्थित सत्कार क्याफेमा अभियानको घोषणा गर्न लागेका हुन् ।
नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)सहित विभिन्न ९ वटा दलसँग माओवादीले एकता गर्ने घोषणा गरेपछि शर्मा असन्तुष्ट बनेका थिए । उक्त असन्तुष्टिसँगै उनी माओवादी छोड्ने निर्णयमा पुगेका हुन् । यसअघि नै शर्माले सचिवालय बैठकमा एकता गर्नु गलत भएको बताएका थिए । त्यही बेलादेखि उनी माओवादीको पुनर्गठन गर्ने बताउँदै आएका छन् ।
माओवादीको उपमहासचिव पदसमेत अस्वीकार गर्दै आएका शर्मालाई सचिव राम कार्कीले पनि साथ दिँदै छन् । कार्की पनि अध्यक्ष प्रचण्डसँग निकै लामोसमयदेखि असन्तुष्ट थिए । केही दिनअघि मात्रै सचिव गणेश साहले पनि माओवादी छोडेका छन् ।
शर्मालाई कार्कीका साथै सुदन किराँतीले पनि साथ दिने चर्चा छ । यद्यपि, माओवादी नेताहरू ‘क–कसले शर्मालाई साथ दिन्छन्’ भन्ने चाहिँ प्रस्ट भइसकेको छैन ।
शर्माले नेकपा एसको एकता निर्णयसँग असन्तुष्ट महासचिव घनश्याम भुसालसँग सहकार्य गर्ने चर्चा पनि रहेको छ । शर्मा र भुसालहरू एउटै पार्टी बनाउने तयारीमा रहेको पनि चर्चा भइरहेको छ । उक्त अभियानमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव विश्वभक्त दलाल ‘आहुती’ले पनि साथ दिने बताइएको छ ।
























