काठमाडौं । टीओबीका सदस्यले काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियो जेनजी आन्दोलनको समय नरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले पक्राउ परेका तेन्जेन दावाबाट नक्कली पेस्तोल समेत बरामद गरेको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घुसपैठ भएको र टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर पुगेको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गर्दा भिडियो उक्त आन्दोलनको समयको नरहेको तथ्य खुलेको हो । भिडियो करिब एक वर्षअघि नै बनाइएको प्रहरीले जनाएको छ ।
बिजुलीबजार पुलमा टीओबी लेखिएको कालो ड्रेस लगाएका तेन्जेन चुरोट तान्दै कम्मरको पछाडिको भागमा पेस्तोल भिरेको भिडियोमा देखिन्छ । उनलाई मोटरसाइकमै बसेका अर्का व्यक्तिले उक्त पेस्तोल दिएको देखिन्छ ।
‘भिडियो पुरानो भए पनि पेस्तोलबारे हामीले अनुसन्धान गर्दा नक्कली पेस्तोल फेला पर्यो’, परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले भने, ‘अरु अनुसन्धान हुँदैछ।’
टीओबी लेखिएको कालो कपडा लेखाएर यो समूहका व्यक्ति बुलेट बाइक पड्काउँदै जेनजी आन्दोलनमा गएका थिए । केही ज्याकेटमा टीओबीको पूरा रूप ‘तिब्बतीयन ओरिजल ब्लड’ समेत लेखिएको थियो ।






















