काठमाडौं । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली विरुद्ध सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ ।
बागलुङको जिल्ला सरकारी वकिलको कार्यालयले नेपाली विरुद्ध एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदावी सहित मुद्दा दायर गरेको हो । उनीमाथि बागलुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानूनी सम्पत्ति कमाएको आरोप छ । त्यसै गरि श्रीमती छेला नेपाली विरुद्ध रु छ करोड अन्ठानब्बे लाख ८० हजार रुपैयाँ बराबरको विगोमाग सहित मुद्धा दर्ता गरिएको छ ।
पहिले सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएका नेपालीलाई बिहीबार सहकारी ठगीलाई आधार बनाएर जिल्ला अदालत बागलुङमा सम्पत्ति शुद्धीकरण मुद्दा पनि दर्ता गरिएको सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिए ।
सहकारी ठगी छानबिन प्रतिवेदन र प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी ३ वटै मुद्दा चलाउन सिफारिस गरिएको भएपनि यसअघि सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएको थियो ।
नेपाली ११ असोज, २०८१ मा उनी भारतमा पक्राउ परेका थिए । त्यसपछि नेपाल ल्याइएका उनी अदालतमा पेश भएपछि पुर्पक्षका लागि थुनामा छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि नै नेपाली सहित १७ जनामाथि सम्पत्ति शुद्धीकरण लगायतमा मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन तयार गरेको थियो ।
नेकपा एमालेबाट ढोरपाटन नगरपालिकामा मेयर पदमा विजयी नेपालीलाई तत्कालिन केपी ओली सरकारले सम्पत्ति शुद्धिकरण मुद्धा नचलाएर जोगाउन खोजेको आरोप छ । तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले उक्त विषयको फाइल अगाडी बढाउन दिएका थिएनन् । अहिले नयाँ महान्यायाधिवक्ता आएपछि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।






















