काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने प्रपञ्चमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घूस लेनदेनमा मुछिएका पूर्वमन्त्री बलराम अधिकारी र पूर्वसचिव अर्जुनप्रसाद पोखरेलविरुद्ध भने अर्को अभियोग पेस गर्ने भन्दै तत्काललाई उन्मुक्ति दिइएको छ ।
लिची बगानको १ सय ३४ रोपनी जग्गा हडप्ने योजनासहित घूस डिल गरिएको अडियो गत असारमा सार्वजनिक भएपछि अनुसन्धान थालेर अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । एमाले नेतासमेत रहेका पूर्वसामान्य प्रशासनमन्त्री गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठलाई ७८ लाख रुपैयाँका दरले बिगो मागदाबी गर्दै मुद्दा चलाइएको छ ।
तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीविरुद्ध ५३ लाख, बिचौलिया सुजनकुमार तामाङविरुद्ध ७८ लाख, प्रकरणमा संलग्न देखिएका खेमबहादुर पुनविरुद्ध २५ लाख, यामकुमारी गुरुङ र तुल्सीराम बुढामगरविरुद्ध ७८–७८ लाखका दरले बिगो माग गरिएको छ । मुद्दा चलाइएका सातै जनाविरुद्ध भ्रष्टाचार निवारण आयोग ऐनअनुसार कैद सजाय गर्न पनि अख्तियारले मागदाबी गरेको छ ।
पुस २०८१ मा घूस लेनदेन हुँदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रहेका एमाले नेता अधिकारी र पूर्वसचिव पोखरेलमाथि भने छुट्टै अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । अधिकारीले ३२ लाख र पोखरेलले पाँच लाखका साथै रक्सी र दुई वटा वन कुखुरा घूस लिएको आरोप छ ।
बिचौलिया तामाङले अधिकारीका छोरा मनोजमार्फत घूस बुझाएको अडियोमा उल्लेख गरेका थिए । मालपोत कार्यालय कास्कीका नायब सुब्बा दीपक सुवेदीले ७० लाख खर्च गरी चिरञ्जीवी पौडेललाई मालपोत कार्यालय कास्कीमा प्रमुख बनाएर ल्याएको र पौडेलले सेवाग्राहीसँग चार पटक हवाई टिकट किन्न लगाएको विषयमा पनि छुट्टै मिसिल खडा गरी अनुसन्धान गर्ने निर्णय भएको पनि अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले अलग्गै ११ लाख घूस लिएको विषयमा पनि छुट्टै अनुसन्धान हुने भएको छ । श्रेष्ठले लिएको घूस उनका तर्फबाट रोशन लोहनीले जम्मा गरेको अडियोमा सुनिएको पाइएको अख्तियारले जनाएको छ ।






























