काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । वार्ताका क्रममा मोदीले ‘इतिहास रच्दै नेपालको पहिलो महिला प्रधानमन्त्री’ बनेकामा कार्कीलाई बधाई दिएका थिए भने प्रधानमन्त्री कार्कीले मोदीलाई ७५ औं जन्मदिनको शुभकामना दिएकी थिइन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौं पुरानो र मैत्रीपूर्ण सम्बन्ध स्मरण गरेकी थिइन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि उनीहरूबीच छलफल भएको थियो ।
प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीचको यो पहिलो औपचारिक संवाद हो । प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको भावनाअनुसार सरकारले निर्वाचनलाई प्राथमिकतामा राखेको उल्लेख गरेकी थिइन् । त्यस्तै, युवाको आकांक्षाअनुसार जवाफदेही, जिम्मेवार र भ्रष्टाचारमुक्त शासनप्रति सरकारले दृढ संकल्पसहित काम थालेको बताएकी थिइन् ।
मोदीले नेपाल सरकारको प्राथमिकतामा भारतको पूर्ण सहयोग र समर्थन रहने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका थिए । छिमेकी दुई देशका सरकार प्रमुखबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको छ’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मोदीले संविधान दिवसको शुभकामना पनि दिएका थिए ।
उता, मोदीले प्रधानमन्त्री कार्कीसँग आत्मीय कुराकानी भएको बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले हालै भएको जेन–जी आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनःस्थापित गर्ने नेपालको प्रयासप्रति भारतको दृढ समर्थन रहेको बताएका छन् ।
जेन–जी आन्दोलनमा भएको मानवीय क्षतिप्रति पनि मोदीले दुःख व्यक्त गरेका छन् । ‘आन्दोलनका क्रममा भएको दुःखद् मानवीय क्षतिप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता कायम गर्ने उहाँको प्रयासप्रति भारतको दृढ समर्थन हुने प्रतिबद्धता मैले दोहोर्याएँ,’ फोनवार्तापछि सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले उल्लेख गरेका छन् ।
कार्कीको शपथलगत्तै भारतले बधाई र शुभकामना दिएको थियो । भारतीय विदेश मन्त्रालयले दुवै देश र नागरिकको हित तथा समृद्धिका लागि नेपालसँग सहकार्य जारी राख्ने बताएको थियो । ‘हामी सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएकामा स्वागत गर्दछौं, यसबाट नेपालमा शान्ति र स्थिरता कायम हुने हाम्रो अपेक्षा छ’, विदेश मन्त्रालयका तर्फबाट जारी वक्तव्यमा भनिएको थियो ।
त्यस्तै एक नजिकको छिमेकी, साथै लोकतन्त्र र लामो समयदेखि विकासको सहयोगीका रूपमा भारत–नेपाल साथमा मिलेर दुवै देश र नागरिक हित तथा समृद्धिका लागि काम गरिरहने पनि मन्त्रालयले उल्लेख गरेको थियो ।
त्यसअघि भारतीय प्रधानमन्त्री मोदीले २८ भदौमा मणिपुर राज्यको इम्फालमा आयोजित राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा नेपाली युवाले ऐतिहासिक निर्णय गरेको उल्लेख गर्दै नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकामा कार्कीलाई बधाई दिएका थिए । उनले कार्कीको नियुक्तिलाई महिला सशक्तीकरणको उदाहरणका रूपमा समेत उल्लेख गरेका थिए ।
प्रधानमन्त्री कार्कीले बिहीबार नै अमेरिका र चीनका राजदूतसँग भेटेकी छन् । अमेरिकी राजदूत डिन थम्पसनले प्रधानमन्त्री कार्कीसँग भेट गरेर नेपालको अबको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन दोहोर्याएका छन् ।






































