काठमाडौं । पूर्वश्रीमतीको उजुरीका आधारमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ जेल चलान भएका छन्। बलात्कार तथा ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत, ललितपुरका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले इन्स्पेक्टर गुरुङलाई शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
गत २० साउनमा उनी पूर्वश्रीमती बस्ने ललितपुरको महालक्ष्मी नगरपालिका– ४ स्थित डेरामा पुगेका थिए । सोही दिन आफूलाई बलात्कार गरी कुटपिट गरेको उनकी पूर्वश्रीमतीले आरोप लगाउँदै प्रहरीमा उजुरी गरेपछि दुई साताअघि गुरुङ पक्राउ परेका थिए। बयानको क्रममा भने गुरुङले झगडा भएको स्वीकार गरेका छन्, तर बलात्कार अस्वीकार गरेका छन् ।
प्रहरीका अनुसार ०६७ सालमा उनीहरूको बिहे भएकोमा ०८१ मा जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको हो । उनीहरूका दुई छोरी र एक छोरा छन् । सम्बन्धविच्छेदपछि पनि उनीहरूबिच भेटघाट भइरहने गर्दथ्यो । ३० साउनमा जेठी छोरीलाई उपचार गरेर डेरामा लगेको अवस्थामा उनीहरूबिच झगडा भएको हो ।
०७३ सालमा प्रहरीमा भर्ना भएका इन्स्पेक्टर गुरुङ सशस्त्र प्रहरी गण नक्सालमा कार्यरत थिए। थुनामा गएसँगै उनी स्वतः निलम्बनमा परेका छन्।


































