काठमाडौं । सत्ताधारी राजनीतिक दलले थालेको हस्ताक्षर संकलन अभियानमा विपक्षी सांसदको पनि साथ रहने भएको छ । मंगलबार बिहानदेखि नेपाली कांग्रेस र नेकपा (एमाले)ले सांसदको हस्ताक्षर संकलन गरिरहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अभियानप्रति समर्थन जनाएकी छन् । मंगलबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर उनले हस्ताक्षर गरेकी हुन् ।
सीके राउत नेतृत्वको जनमत पार्टीका सांसदले पनि हस्ताक्षर गरेका छन् । अभियानमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को समेत साथ रहेको कांग्रेस सांसद रामहरि खतिवडाले बताए ।
उनका अनुसार, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि अभियानमा साथ रहने आश्वासन दिएका छन् ।
यादव नेतृत्वको जसपा नेपाल विपक्षी दल हो । हस्ताक्षर संकलन अभियानलाई उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने तयारीका रूपमा हेरिएको छ ।
























