कास्की । एक किशोरीलाई बलात्कार गरेर भिडिओ बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक पुरुषलाई पक्राउ गरेको छ।
ती पुरुषले हाडनाता पर्ने किशोरीलाई बलात्कार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
ती व्यक्तिले बालिकासँगको यौन दुर्व्यवहारजन्य सामग्रीहरू ‘डिजिटल प्लेटफर्म’ मा राखेको जानकारीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
‘नेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रन’ बाट साइबर ‘रिपोर्ट’मार्फत अनुसन्धान गर्दै जाँदा ती पुरुषले हाडनातामा पर्ने किशोरीलाई जबरजस्ती करणी गरेको खुलेको हो।
ती पुरुषले बाल यौन दुर्व्यवहार गरेको अर्को भिडिओसमेत ‘डिजिटल प्लेटफर्म’ मा राखेको प्रहरी अनुसन्धानका क्रममा खुलेको बस्नेतले बताए।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३, जबरजस्ती करणी र बालबालिका विरुद्धको कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याथ थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतको भनाइ छ।
प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो काठमाडौंसँगको सहकार्यमा कास्की प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गत साउन ३० गते अभियुक्तलाई मोबाइल फोन सहित पक्राउ गरेर हिरासतमा राखेको छ।























