काठमाडौं । सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडक खण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईवटा ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।
सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले बताए। पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिँदा यात्रुले सास्ती पाएका छन्।
























