काठमाडौं । रुपन्देहीको भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सरुवा गर्ने निर्णय भएको छ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जानाएको छ।
लामो समयदेखि रोकिएको लामिछानेको कारागार सरुवाको निर्णय शर्माले विभागको जिम्मेवारी सम्हालेकै दिन गरेका हुन्। उनको कारागार बसाइ लम्बिने भएपछि अब काठमाडौं ल्याउन लागिएको गृहका अधिकारीहरूको भनाइ छ।
लामिछानेले सरुवा माग गर्दै अदालत र जिल्ला प्रशासन कार्यालयबाट पहिल्यै अनुमति पाइसकेका थिए। तर, गृहमन्त्री रमेश लेखकको निर्देशनमा कारागार व्यवस्थापन विभागले सरुवाको निर्णय रोकेको भन्दै आलोचना भएको थियो।























