काठमाडौं । दाङमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुईजना किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङकै गढवा गाउँपालिका-८ घर भई घोराही उपमहानगरपालिका १७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिक रहेका जिल्ला प्रहरी कार्याल्य दाङले जनाएको छ।
जिप्रका दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार रामपुरबाट घोराहीतर्फ आउँदैगरेको रा७प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका –४ सिस्नेखोलामा सोमबार साँझ सात बजेतिर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै किशोरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ।
तिब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। दुवै शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।























