काठमाडौं । सरकारले एकै दिनमा साढे ३८ अर्ब रूपैयाँ बढी (३८ अर्ब ६१ करोड) सरकारी खर्चको भुक्तानी गरेको छ। कानुनतः चालु आर्थिक वर्षका लागि खर्च निकासा गर्न पाउने अन्तिम दिन यति धेरै रकम भुक्तानी गरिएको हो।
सहमहालेखा नियन्त्रक सुशीला अर्यालले योसँगै चालु आर्थिक वर्षका लागि भुक्तानी बन्द भएको बताइन्। ‘हाम्रो सिष्टम एआई बेस हुन्छ, राति १२ बजेदेखि अटोमेटिक लक हुन्छ। कानुनले विभिन्न परिस्थितिमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको बाहेक अब भुक्तानी रोकियो,’ अर्यालले भनिन्।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार थाती रहेका सबै प्रकारका भुक्तानी फरफारक गरिएको कारण एकै दिन ठूलो रकम निकासा भएको हो। गत वर्ष पनि भुक्तानी गर्न पाउने अन्तिम दिन साढे २१ अर्ब रूपैयाँ निकासा भएको थियो।






































