काठमाडाैं । मलेसियामा जारी एसीसी पुरुष यू–१६ इष्ट जोन कप–२०२५ प्रतियोगितामा नेपाली टोलीले लगातार तेस्रो जीत हासिल गरेको छ । नेपालले आइतबार सम्पन्न आफ्नो तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरले हरायो ।
एकदिवसीय प्रतियोगितामा नेपालले कुनै पनि राष्ट्रमाथि रनका आधारमा हासिल गरेको यो नै सबैभन्दा ठूलो अन्तरको जीत हो । नेपलको सिनियर राष्ट्रिय टोलीले पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यति ठूलो रन अन्तरको जीत हासिल गर्न सकेको छैन ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सिनियर राष्ट्रिय टोलीले हासिल गरेको सबैभन्दा ठूलो अन्तरको जीत १७७ रन हो । सिनियर राष्ट्रिय टोलीले सन् २०२३ को मार्च १२ तारिखमा कीर्तिपुर मैदानमा खेलिएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई १७७ रनले हराएको थियो ।
आइतबार इन्डोनेसियाविरुद्ध टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा केवल पाँच विकेट गुमाएर चार सय २० रनको विशाल योगफल तयार पारेको थियो । यो स्कोर पनि नेपाली युवा टोलीका लागि आफैंमा कीर्तिमान हो ।
नेपालको सिनियर पुरुष टोलीले पनि हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यति धेरै रन बनाउन सकेको थिएन । नेपालको सिनियर टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको उच्च स्कोर तीन सय २१ रन हो ।
उक्त रन सिनियर टोलीले सन् २०२५ को जुन ८ तारिखमा खेलिएको स्कटल्यान्डविरुद्धको खेलमा बनाएको थियो । उक्त खेल हालै आईसीसी विश्वकप लिग–२ प्रतियोगिताका क्रममा स्कटल्यान्डमै खेलिएको थियो ।
नेपालले दिएको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इन्डोनेसियाले भने २४.३ ओभरमै अलआउट हुनुअघि ५० रनमात्र बनाउन सक्यो । इन्डोनेसियाका ब्याट्सम्यानहरू प्रारम्भदेखि नै नेपाली टोलीका बलरको दबाबमा परेका थिए ।
इन्डोनेसियालाई सस्तोमा समेट्ने क्रममा नेपाली टोलीका बलर विपिन प्रसाद शर्मा एक्लैले ६ विकेट लिए । उनले ७.३ ओभरमा दुई मेडन राख्दै केवल १२ रन खर्चिए । सुगम बुढाकोटी र शुभम खनालले पनि एक–एक विकेट हात पारे ।
इन्डोनेसियाका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । ओपनर कविन निरज चड्डाले सर्वाधिक १५ रन बनाए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका दिवित नन्दाले १४ रन बटुले । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
























