बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ खण्डको विनयी खोलामा बाढीले फेरि डाइभर्सन बगाएपछि वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । विनयी खोलासँगै दाउन्नेका विभिन्न ठाउँमा आवतजावत गर्न समस्या देखिएको भन्दै पूर्वी नवलपरासी प्रहरीले पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व आउने गाडीलाई नारायणगढ पोखरा स्याङजा हुँदै बुटवल निस्केर जान आग्रह गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक मधु नेपालले जारी गरेको विज्ञप्तिमा पूर्वबाट पश्चिम जाने सवारीको हकमा नारायणगढ-मुग्लिन-पोखरा-स्याङजा हुँदै बुटवल निस्केर जान अनुरोध गरिएको छ ।
त्यस्तैगरी काठमाडौंबाट पश्चिम जाने सवारीलाई पनि नारायणगढ-मुग्लिन-पोखरा-स्याङजा हुँदै बुटवल निस्केर जान प्रहरीले भनेको छ । पश्चिमबाट पूर्व जाने गाडीलाई बुटवल-स्याङजा-पोखरा-मुग्लिन-नारायणगढ हुँदै जान भनेको छ ।
त्यस्तै, साना सवारीलाई अवस्था बुझेर कालिगण्डकी करिडोरअन्तर्गत गौडाकोट हुँदै पाल्पाको पिपलडाँडा भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । निर्माणाधीन बुटवल-नारायगढ सडक समयमा नबन्दा यात्रुलाई धेरै समयदेखि सास्ती खेप्दै आएका छन् ।
मंगलबारदेखि सडकमा समस्या देखिएपछि गाडीको लामो जाम लागेको छ । अस्ति राति विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन भत्काएपछि सडक दुईतर्फी नै अवरुद्ध भएको थियो । खोलाको बेग बढी भएका कारण सानो बाढी आउँदा पनि डाइभर्सन बगाउने गरेको छ ।