रुपन्देही । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा भूमे पूजाको रमाइलो सुरू भएको छ । प्रदेश सरकारले रूकुम पूर्व, रोल्पा, दाङ र प्यूठानमा आज सार्वजनिक बिदा दिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री आचार्यले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको विविध संस्कृति, परम्परा र पहिचानलाई समेट्दै यस्ता मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव र पहिचान संरक्षणमा योगदान पुर्याउने उल्लेख गरिएको छ ।
‘हाम्रा मौलिक संस्कार, परम्परा, रीतिरिवाज र चाडपर्वहरू सामाजिक र सांस्कृतिक समृद्धिको बलियो आधार हुन् । भूमे पर्व आदिवासी जनजाति समुदायको सांस्कृतिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको पर्व हो, जसले भूमि, प्रकृति र पूर्वजप्रतिको सम्मान प्रकट गर्छ ।’
प्रदेश सरकार यस्ता मौलिक पर्वहरूको संरक्षण गर्दै समावेशी विकासमा जोड दिन प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ । भूम्या पूजाको सांस्कृतिक महत्वलाई सम्मान गर्दै सरकारद्वारा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा असार १ गते आइतबार सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिएको पनि जानकारी गराइएको छ ।




































