काठमाडौं । उच्च अदालत, वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुलाई कालो मोसो दलिएको छ । अफताब आलमलाई सफाइ दिएको भन्दै न्यायाधीश थारूलाई नेकपा बहुमतका कार्यकर्ताहरूले कालोमोसो दलेका हुन् ।
इजलासमा मुद्दा सुनुवाई भइरहेको समयमै छिरेर न्यायाधीश थारुमाथि मोसो छ्यापिएको हो । न्यायाधीशमाथि कालो मोसो छ्याप्ने दुई जना पक्राउ परेका छन् । मोसो छ्याप्न पुगेका उनीहरूले आलमलाई सफाई दिएकोमा विरोध गरेका थिए ।
गत जेठ १४ गते बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लागेको पूर्वसांसद मोहम्मद अफताब आलमले सफाइ पाएका थिए । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्ट्याएको थियो ।
न्यायाधीशद्वय थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्टी गर्ने आदेश दिएको थियो ।
नेपाली कांग्रेसको पूर्वसांसद समेत रहेका आलमले काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएर घाइते भएका त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।
२०६४ को संविधान सभाको निर्वाचनको अघिल्लो राति बम विस्फोटमा घाइते भएकाहरुलाई रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर हत्या गरेको आरोपमा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गरेको थियो । घटनाको १२ वर्षपछि आलमलाई १९ असोज २०७६ मा पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको थियो । सोही मुद्दामा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । तर, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले भने उनलाई सफाइ दिएको हो ।