काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालयमा फर्किने वातावरण मिलाउन आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै यस्तो आदेश दिएको हो।
‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ।
अधिवक्ता श्रवणकुमार चौधरीले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्यौलमा परेको भन्दै रिट दायर गरेका थिए।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय संसद सचिवालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा विभाग सानोठिमी भक्तपुर र राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
उनले विद्यार्थीहरूलाई पठनपाठनको वातावरण मिलाइदिन भन्दै अन्तरिम आदेशको माग गरेका थिए। त्यस अनुसार नै आदेश जारी भएको हो।
शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनमा छन्। यसले गर्दा कक्षा १२ को परीक्षामा पनि असर परेको र एसइईको नतिजामा समेत असर परेको उनको जिकिर थियो।
अदालतले पाँच वटा बुँदामा अन्तरिम आदेश जारी गरेको हो।
(सच्चाइएकाे छ )






































