काठमाडौं । जिल्ला अदालत काठमाडौंले निलम्बित सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेको २० प्रतिशत कैद सजाय मिनाहा गर्न आदेश दिएको छ ।
न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले शुक्रबार मनाङेको मागबमोजिम आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
मनाङेले साविक मुलुकी ऐन, दण्ड सजाय महलको ४१ (क) बमोजिम सुविधा माग्दै निवेदन दिएका थिए । उक्त ऐनमा फैसला गर्ने वा लगत रहेको अड्डामा हाजिर भई जरिवाना तिर्न वा कैदमा बस्न मञ्जुर भएमा २० प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था थियो । पुरानो मुद्दा भएकाले साविक मुलुकी ऐनअन्तर्गत मनाङेले सजायमा छुट पाएका हुन् ।
तत्कालीन गुण्डा नाइके मनाङेले अर्का गुण्डा नाइके चक्रे मिलनको हातै छिन्ने गरी तरबार प्रहार गरेका थिए । सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । उक्त सजाय माथिल्ला अदालतहरूबाट पनि सदर भएको थियो ।
मनाङे २ वर्ष ४ महिनाका लागि पछिल्लोपटक कारागार चलान भएकोमा अब उनले २० प्रतिशत कैद सजाय छुट पाउनेछन् ।