काठमाडौं । गएका तीन दिनसम्म लगातार बढेको सुनको मूल्य आज घटेको छ। चाँदी भने आज थप महँगिएको छ।
मंगलबार, बुधबार र बिहीबार बढेको सुनको मूल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँ घटेको हो। सुनको मूल्य आज तोलाको एक लाख ७० हजार दुईसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला तीनसय रुपैयाँ बढेर एक लाख ७० हजार सातसय रुपैयाँ पुगेको थियो।
बुधबार सुनको मूल्य प्रतितोला नौसय र मंगलबार एक हजार चारसय रुपैयाँ बढेको थियो। यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ भने बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँ बढेर १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ।






















