काठमाडौं । अहिले गण्डकी प्रदेशका केही क्षेत्रमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशका पहाडी भूभागका तीन/चार स्थानमा छिटफुट वर्षा भइरहेको छ । देशैभर माौसम आंशिक बदलीदेखि साधारणतया बदली नै रहेको विभागले जनाएको छ । कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली र मुख्यतया मौसम सफा रहेको छ ।
हाल काठमाडौं उपत्यकामा भने पानी पर्ने सम्भावना नरहेको विभागले जनाएको छ । आज देशका धेरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना भने छ । मधेश प्रदेशबाहेक ६ प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।
राति सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली र लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।























