बागलुङ । बागलुङका १० स्थानीय तहमा कार्यसम्पादन मूल्यांकनमा जैमिनी नगरपालिका उत्कृष्ठ पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार जैमिनी नगरपालिकाले ६८.३ प्रतिशत ल्याएर उत्कृष्ठ भएकाे हाे । आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गरेको हो ।
सूचकहरूमध्ये पालिकाले गरेको खर्च, बेरूजु, लेखा परीक्षणले औँल्याएको बेरूजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेकोलगायतका सूचकमा मूल्याङ्कन गर्ने गर्दछ ।
समय सीमाभित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे–नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए नदिएकोलगायतका आधारमा अनलाइन पोर्टलबाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ ।
त्यस्तै ढोरपाटन नगरपालिका दोस्रो भएको छ । उसले विभिन्न सूचकमा ६६.८ प्रतिशत प्राप्त गरेको छ । यस्तै गलकोट नगरपालिकाले ६५.२ प्रतिशतसहित तेस्रो स्थानमा आएको छ । काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिका ५९.८ सहित चौथो स्थानमा आएका छन् । यस्तै बागलुङ नगरपालिका ५७.९ सहित पाँचौ स्थान प्राप्त गरेको छ । यता बरेङ गाउँपालिकाले ५७.४ प्रतिशत ल्याएर छैठौं स्थानमा आएको छ । यस्तै तमानखोला गाउँपालिकाले ५०.३ प्रतिशत ल्याएको छ । ताराखोला गाउँपालिकाले ४९.३ प्रतिशत ल्याएको छ । यस्तै १० वटा पालिकामध्ये सबैभन्दा कमजोर नम्बरसहित निसीखोला गाउपालिकाले ४८.१ प्रतिशत ल्याएको छ ।
