काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुस दोस्रो साता उद्घाटन गरेको बोंगादोभान पुलको शिलालेख विवादमा परेको छ । २०७७ सालमा निधन भएकी नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेश सांसद दोर्णकुमार कुँवर र गाउँपालिका अध्यक्ष जोकलाल बुढाको नाम शिलालेखमा लेखेपछि सो विषय विवादमा परेको हो । पुल निर्माणमा सबै पक्षको भूमिका रहेको नेकपा माओवादी केन्द्र तमानखोलाको दाबी छ ।
गाउँपालिकालाई सच्चाउन लिखित निवेदन दिँदा पनि सुनुवाई नभएपछि विरोध स्वरुप शिलालेखमा कालो रंग छ्यापिएको नेकपा माओवादी केन्द्र तमानखोलाका अध्यक्ष नारायण सुनारले जानकारी दिए ।

‘पुल बनाउनमा हाम्रो पार्टीका नेताहरुको पनि भूमिका छ, हामीले हाम्रा नेताहरुको नाम लेख्नुपर्छ भनेको छैनौं,’ उनले भने, ‘शिलालेखमा नाम लेखाउने कांग्रेसका नेताहरुको मोह देख्दा यहाँका जनता आश्चर्यमा छन् ।’
उनका अनुसार आइतबार नेकपा माओवादी केन्द्रका पदाधिकारीसहितका नेताहरुले शिलालेखमा कालो रंग छ्यापेर कालो झण्डा गाडेका छन् ।
वडा नम्बर ६का वडाध्यक्ष छवि श्रीपालीले जनताको करबाट आएको बजेटमा कांग्रेसका नेताहरुले आफ्नै गोजीबाट रकम विनियाेजन गरे जस्तो व्यवहार देखाएको आरोप लगाएका छन् । यता, नेपाली कांग्रेसका क्षेत्रिय सभापति समेत रहेका जोकलाल बुढाले फोन उठाएनन् ।
याे पनि हेर्नुहाेस्
कांग्रेस नेताको शिलालेख मोह : पुल उद्घाटनमा बहालवालादेखि स्वर्गीयसम्मकाे नाम
