काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागलुङ काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा कमल विश्वकर्मा निर्वाचित भएका छन् । शनिबार काठमाडाैंमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट कमल विश्वकर्माको अध्यक्षतमा ४५ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो ।
जसको उपाध्यक्षमा जमुना शर्मा, प्रेमबहादुर अधिकारी, जनकराज गौतम सचिवमा ध्रुव चालिसे, सहसचिवमा योगेन्द्र बुढा मगर र कोषाध्यक्षमा श्याम विकसहित अन्य सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक केशव शर्माले जानकारी दिए ।
उनका अनुसार निर्वाचित पदाधिकारीसहितका सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । यसअघि विष्णु आचार्यको अध्यक्षतामा पहिलो अधिवेशन भएको थियो ।
सम्पन्न अधिवेशनको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवम् समन्वय समितिका इन्चार्ज मात्रिका यादवले कम्युनिष्ट विचार बोकेका युवाहरू कमि भएको बताएका छन् । अधिवेशनलाई सम्बोधन गर्दै उनले पछिल्लो पुस्तामा कम्युनिष्ट विचार बोक्ने युवाहरूकाे जमातमा कमि आएको बताएका हुन् । उनले भने, ‘अब जनता र क्रान्तिकारीबीच ध्रविकरण भइरहेको छ, यसलाई पार्टीले पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’ उनले पार्टीका संगठन केन्द्रतिर मात्रै केन्द्रीत भएको आरोप लगाउँदै नेताहरू जनतामाझ जानुको विकल्प नरहेको बताएका हुन् ।

‘केन्द्रमा संगठनको कार्यालय धेरै भएपनि तल जनतामा अझै पुग्न सकेको छैन,’ उनले भने, ‘जनयुद्धमा महिला र विद्यार्थीले मोर्चा कसेर अघि बढेको थियो अहिले भातृ संगठन सुस्ताएका छन् ।’

अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव दिननाथ शर्मा, हितमान शाक्य, देवेन्द्र पौडेल, केन्द्रीय सदस्य हिमाल शर्मा, कृष्ण केसी, हरि अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।