काठमाडौं । कुनै पुर्वाधार निर्माण सम्पन्न हुँदा वा शुरुवात गर्दा होस् उद्घाटन वा शिलान्यास गर्दा शिलालेखमा प्रमुख अतिथिको नाम र मिति राख्ने प्रचलन छ । तर, बागलुङको तमानखोला गाउँपालिकास्थित बांगदोभान मोटरेबल पुलको उद्घाटनमा बहालवालादेखि स्वर्गीयसम्मका नेताहरूको नाम शिलालेखमा उख्लेख गरिएको छ ।
२०७७ साल असार ९ गते निधन भएकी कांग्रेस कोटाबाट समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको नाम पनि राखिएको छ । ४ वर्षअघि निधन भइसकेको सांसदको नाम राखेर अन्य कांग्रेसका नेताहरूले आफ्नो नामसमेत शिलालेखमा दर्ज गर्न भ्याएका छन् । गत असोज २१ गते निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पुस १३ गते त्यहाँ पुगेका थिए ।
शिलालेखकमा — ‘नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत डिभिजन सडक कार्यालय बागलुङको वार्षिक बजेटबाट स्व. माननीय ज्ञानकुमारी छन्त्याल र गण्डकी प्रदेशसभा सदस्य माननीय दोर्णकुमार कुँवरको पहलमा तमानखोला गाउँपालिका वडा नम्बर १ मा निर्माण सम्पन्न बोंखानीखोला बोंगादोभान बजार घाट मोटरेबल पुलको प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूबाट समुद्घाटन सुसम्पन्न भयो ।, इति संवम २०८१ साल पौस १३ गते रोज शुभम् । कार्यकाल, जोकलाल बुढा, अध्यक्ष तमानखोला गाउँपालिका, बागलुङ’ लेखिएको छ ।

पुल निर्माण सम्पन्न भएपछि त्यहाँका स्थानीय खुसी भएपनि कांग्रेसी नेताहरूले नाम लेखाउने हाेडले आश्चर्य भएका छन् । जहाँ ४ वर्ष अघि निधन भएकी कांग्रेस सांसद छन्त्याल, कांग्रेस नेता एवम् प्रदेश सांसद कुँवर, कांग्रेस सांसद एवम् मुख्यमन्त्री पाण्डे र कांग्रेसका स्थानीय नेता एवम् तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको नाम शिलालेखमा राखेपछि स्थानीयले विरोध गरेका छन् ।
पुल २ करोड ५८ लाख ७६ हजार ६सय ५६ रुपैयाँ लगायतमा निर्माण सम्पन्न गर्ने गरी कान्तिपथ कन्ट्रक्सन प्रालिले २०७७ साल ९ महिना १६गते जिम्मा लिएको थियो ।

यता, नेकपा माओवादी केन्द्र तमानखोलाले विज्ञप्ति जारी गर्दै सो कार्यको आपत्ति जनाएको छ । जारी विज्ञप्तिमा २ दिनभित्र सर्वपक्षिय सहमतिबाट सच्चाउने वातावरण बनाउन गाउँपालिकालाई अनुरोध गरेको छ ।
