काठमाडौं । कञ्चनपुरमा प्रहरी जवानले आफैमाथि गोली चलाउँदा गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपाने गोली लागेर गम्भीर घाइते भएका हुन्।
शुक्रबार बेलुकी साढे ६ बजे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हतियार राख्ने कोठाभित्र न्यौपानेले आफैमाथि गोली चलाएका थिए। अछाम घर भएका प्रहरी जवान न्यौपाने जिप्रकाको प्रबन्ध शाखामा कार्यरत थिए।
शुक्रबार फाइरिङ तालिम राखिएको थियो। हातहतियार मिलाउने तथा रेकर्ड राख्ने जिम्मा न्यौपानेलाई थियो। न्यौपानेले हतियार राख्ने कोठामै पेस्तोल चलाएर आफूमाथि गोली प्रहार गरे।
उनले निधारमा गोली चलाएका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार गोली लागेर गम्भीर घाइते प्रहरी जवान न्यौपानेलाई महाकाली अस्पालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ।




































