काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार खड्का नियुक्त भएका छन् ।
केही दिनअघि मात्रै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट बाहिरिएका खड्कालाई कम्पनीको सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
बैंक वित्तीय संस्था तथा कर्पोरेट क्षेत्रमा गरेर करिब १८ वर्षको अनुभव हासिल गरिसकेका खड्काको प्रमुख कार्यकारी अधिकृतको यात्रा भने साविक सूर्य लाइफ इन्स्योरेन्स कम्पनीबाट सुरुवात भएको थियो ।
उनी २०७८ मा सूर्य लाइफको सिईओ बनेका थिए । २०७९ पुस महिनामा साविक सूर्य लाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ बने पछि उनी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनेका थिए । मर्जरपछि करिब दुई वर्षको दौरानपछि उनले कम्पनी छाडेर आईएमई लाइफ रोजेका हुन् ।
काममा दक्ष मानिने खड्काले बेलायतबाट चार्टर्ड एकाउन्टेन अध्ययन गरेका हुन्। नेपाल लाइफ इन्स्योरेन्समा समेत काम गरेका उनले उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायत क्षेत्रमा १८ वर्षभन्दा धेरै समय काम गरिसकेका छन् । उनी बिमा कम्पनीको उच्च व्यवस्थापन तहमा ६ वर्षभन्दा लामो समय काम गरिसकेपछि सीईओ बनेका थिए ।
आईएमई लाइफले यसपटक खुला प्रतिस्पर्धा गराएर प्रमुख कार्यकारी नियुक्त गरेको हो । खड्काका लागि आईएमई लाइफको ब्राण्डिङ र शाखालाई बढाउनु पर्ने चुनौती रहेको छ ।