काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान लिन सुरु गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठलेका अनुसार केही बेरअघिदेखि बयान चलिरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका रविलाई काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि अनुसन्धान गर्न पोखराबाट बिहीबार बेलुका यहाँ ल्याइएको हो।
सोही प्रकरणमा यसअघि पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र कुमार रम्तेललाई पनि प्रहरीले काठमाडौँ ल्याएर बयान लिई कास्की (पोखरा) नै फर्कासकेको छ। त्यसपछि बयान दिने पालो रविको आएको हो।
उनलाई बिहीबार बेलुका काठमाडौंस्थित त्रिभुवन विमानस्थल अवतरण गराउँदा आसपास सडकमा रास्वपाका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका थिए। राजनीतिक प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई पक्राउ गरिएको दाबी गर्दै रास्वपाले निरन्तर विरोध गरिरहेको छ।
रविले गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहँदा सूर्यदर्शन र स्वर्णलक्ष्मीसहित ५ वटा सहकारीका रकम लगेर अपचलन गरेको आरोप छ। सोही विषयमा अनुसन्धानका क्रममा कास्कीमा उनीविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको समेत मुद्दा चलाइएको छ।