काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा हुन लागेको उपाध्यक्ष पदको उपनिर्वाचनले नेकपा (माओवादी केन्द्र)मा देखिएको विवादमा केन्द्रले हस्तक्षेप गरेको छ । माओवादीबाट उमेदवारी दिएकी राजुकुमारी विकले उमेदवारी फिर्ता लिएर नेकपा (एमाले)को प्रचारमा हिँडेयता विवाद भइरहेको छ ।
एमालेको गाउँपालिका कमिटी र माओवादीको गाउँपालिका कमिटीबीच चुनावी तालमेल गर्ने निर्णय भएको थियो । ०८४ मा हुने स्थानीय तह निर्वाचनमा उपाध्यक्ष, एक वडाध्यक्ष र केही वडा सदस्य पदमा माओवादीलाई एमालेले सहयोग गर्ने सहमति भएको नेताहरू बताउँछन् ।
सोही सहमतिपछि उमेदवारी फिर्ता लिएर विक एमालेकी उमेदवार सुलोचनाकुमारी भण्डारी बुढाको चुनावी प्रचारमा छिन् । माओवादीका जिल्ला संयोजक देवीचन्द्र बुढा ९दीपक०ले मंसिर ६ गते विज्ञप्ति जारी गर्र्दै विकले उमेदवारी फिर्ता लिएकामा आपत्ति जनाएका थिए ।
“बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा सहभागी भई स्थानीय पार्टीको सिफारिसमा उपाध्यक्षको उमेदवार राजुकुमारी विक ‘रचना’को उमेदवारी दर्ता भएको थियो । तर, हिजो ५ गतेका दिन वहाँले उमेदवारी फिर्ता गरेको कुरा सुन्नमा आएकोले यसप्रति जिल्ला पार्टीको गम्भीर ध्यानाकर्षण भएको र उक्त कार्य पार्टीका नीति, निर्देशनविपरीत भएको जानकारी गर्दछौँ । यस अवैधानिक कार्यमा जिल्ला पाटीको संलग्नता नरहेको र बिनाअनुमति उमेदवारी फिर्ता भएकोले यस कार्यप्रति घोर आपत्ति जनाउँदै उक्त काम पार्टीको विधानविपरीत भएकोले यसमा संलग्न जुनसुकै तहका कमरेडहरूलाई आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।
उनले आपत्ति जनाए पनि माओवादीका नेताहरू एमालेको प्रचारमा हिँडेका थिए । त्यसपछि हेडक्वार्टरले हस्तक्षेप गर्दै नेकपा (एकीकृत समाजवादी)का उमेदवार जवा शाहीलाई भोट हाल्न निर्देशन दिएको छ ।