कोदोको कमाल

विमल खड्का, काठमाडाैं । ‘कुअन्न’ अनि ‘गरिबको खाना’ कोदोको अर्को उपनाम हो । सांस्कृतिक दृष्टिले हेर्दा ‘कुअन्न’ अनि वर्गीय दृष्टिले हेर्दा ‘गरिबको खाना’का रूपमा अर्थ्याएकाले देशभर कोदोबाली पहिल्यैैदेखि हेलामा पर्यो ।

गरिबको घरमा कोदोको ढिडो पाक्दा धनी भनिएकाहरू चामलको भातमा भुले। त्यहि भात उनीहरूका लागि आज रोगको कारक बनिरहेको छ। कोही सुगरको इन्सुलिन लिइरहेका छन्, कोही ब्लड प्रेसरको औषधि सेवन गरिरहेका छन् ।

स्वास्थ्यमा आएको समस्याका कारण होस् वा जन–जनमा बढेको चेतनाका कारण नै किन नहोस्, पछिल्लो समय कोदोको खपत बढेको छ । देशका पाँचतारे होटल देखि महंगा रिसोर्ट अनि शहरका सुपर मार्केटहरूमा कोदोका परिकारहरूको माग क्रमशः बढ्दो छ ।

कोदोको ढिडो, रोटी, तीनपाने, मःम हुँदै अब बिस्कुटसम्म पनि बन्न थालिसके । धेरैले कोदोको महङ्खव बुझ्दै जाँदा केहीले भने त्यसबाट व्यावसायिक लाभ समेत लिएका छन् । त्यसैमध्येका एक हुन्– बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका ३४ वर्षीय चानसिंह श्रीस ।

छ भाइ र दुई बहिनीको परिवारमा चौथो सन्तानको रुपमा जन्मिएका चानसिंहको पढाइ अनि हुर्काइ बागलुङमै भयो । गाउँकै विद्यालयबाट १२ कक्षासम्मको अध्ययनपछि थप अध्ययनका लागि गाउँकै जान्नेमध्येको एक साथीको लहैलहैमा काठमाडौं आए।

‘एक जना किरण काउचा भन्ने साथी थियो मेरो। हेडसरको छोरो भएकाले एकदम राम्रो पढ्थ्यो । हामीले सँगै प्लस टु पास गरेपछि उसले मलाई सीए पढ्न काठमाडौं जाउँ भन्यो,’ चानसिंह सम्झन्छन्, ‘साथीले भनेपछि हार्न नसक्ने स्वभावको मान्छे म, त्यसैले लौ त भनेर आइयो ।’

पुतलीसडकमा बसेर साथीसँगै सीए इन्ट्रान्सको तयारी गर्न थाले चानसिंह । इन्ट्रान्सको तयारीसँगै शंकरदेव क्याम्पसमा बीबीएसमा पनि भर्ना भए । होस्टलमा सँगै बस्दा एमबीबीएस, लोकसेवा, सीए तयारी गर्ने टन्नै साथीहरू थिए। सबै साथीहरूको तयारी हेर्दा उनलाई आफ्नो तयारीले नपुग्ने जस्तो भान लाग्थ्यो ।

‘सँगै बसेर तयारी गरिरहेका साथीहरूको मार्कसिट हेर्छु, ९० प्रतिशत भन्दा तल एउटाको पनि छैन,’ उनी भन्छन्, ‘आफू बल्ल–बल्ल सेकेण्ड डिभिजनमा पास भएको मान्छे । जागिर खान जाँदा ¥यांकिङ र सर्टिफिकेटमा पनि पछि पर्छु जस्तो लाग्यो अनि व्यवसाय गर्ने सोच बनाएँ ।’

२०६८ देखि २०७२ सम्म चार वर्ष पढिसकेपछि मात्र उनलाई लाग्यो ‘यो मबाट पार लाग्दैन।’ त्यसपछि हो उनले सीए पढ्न छोडेको। उनले थपे, ‘चार वर्ष पढिसकेपछि मबाट पार लाग्दैन भन्ने थाहा पाएँ । त्यही बेलादेखि व्यवसाय नै गर्छु भन्ने ठानेँ । ’

कोरोनाले गाउँ लखेट्यो
२०७२ मा सीए पढ्न छाडे पनि उनी शंकरदेव क्याम्पसमा बीबीएस पढ्न गइरहेका थिए । कलेज जाने क्रममा उनले त्यही छेउको टुकुचा गल्लीमा एउटा खाजा घर बिक्रीमा रहेको थाहा पाए । दाइहरूसँगको सल्लाह गरेर खाजा पसल लिने निधो भयो अनि नौ लाख रुपैयाँको लगानीमा खाजा पसल चलाए । त्यसमा परिवारको लगानी थियो । सञ्चालनको केही समयमै आम्दानी पनि राम्रो भयो ।

टुकुचा गल्लीमा खाजाघर खोलेको दुई वर्षमै चानसिंहको पारिवारिक व्यवसाय विस्तार भइसकेको थियो । २०७५ मा डिल्लीबजार हाइटमा भोजनालय खोले । यहाँ मदिराबाहेक खाना र खाजाका परिकारहरू बन्थे । ‘टुकुचा गल्लीमा मःम, चाउमिनदेखि ब्रान्डेड रक्सीसम्म बेच्यौँ,’ उनले भने, ‘रक्सीले व्यापार उकास्यो । राम्रै भयो । त्यसैको आम्दानीले डिल्ली बजारमा तन्दुरी खोल्यौँ ।’

व्यवसाय निरन्तर चलिरहँदा चानसिंहका साइँला दाजुको पोर्चुगलको भिसा लाग्यो । उनी उतै बस्ने गरी गए । दाइ विदेश गएपछि यता चानसिंह एक्लिए । यद्यपि व्यवसाय गर्न छाडेका थिएनन् । सम्हालिरहेकै थिए । पोर्चुगल उडेका साइँला दाइले उतै मार्टमा काम गर्न थाले । यता चानसिंह, खाजाघर र भोजनालय चलाइरहेका थिए भने गाउँमा उनका बुवाले बाख्रा फर्म चलाइरहेका थिए।

ती सबैलाई एक ठाउँमा ल्याउने उदेश्यका साथ उनले वृहत उदेश्यसहित २०७६ मा गाजा इन्टरनेशनल इनभेष्टमेन्ट एण्ड रिसर्च सेन्टर दर्ता गरे । दर्ता गरेको संस्था केही वर्ष झोलामै थन्कियो ।

खाजाघर र भोजनालयले व्यापार दिन दुई गुणा रात चौगुणाका बढ्दै गयो। तर, सबैलाई सधैँ राम्रो मात्र कहाँ हुन्छ र ! दुवैतिरको रेस्टुरेन्टबाट राम्रो आम्दानी गरिरहेका बेला कोरोना भाइरस (कोभिड १९) महामारी आयो ।

२०७६ माघमा नेपालमा पहिलो कोभिड संक्रमित भेटियो। कोरोना भारतमा व्यापक भइसकेको थियो भने नेपालमा पनि फैलँदो क्रममै थियो । रोग लाग्नेबित्तिकै मृत्यु भइहाल्छ भन्ने त्रास फैलिइसकेको थियो ।

कोरोनाको संक्रमणको खबर फैलिएसँगै चानसिंहको व्यापार खुम्चँदै गयो । व्यापार खुम्चिएसँगै दाइहरूसँग सल्लाह गरेर उनले काठमाडौंमा भएका दुइटै रेस्टुरेन्ट बेचेर गाउँ पसे ।

विस्कुट उद्योगको सोच
सीए दोस्रो सेमेस्टर पढ्दै गर्दा ट्रेनिङका लागि भनेर भारत जानुपर्ने भयो । भारत तालिमको साथमा विभिन्न उनले विभिन्न उद्योगहरूको अवलोकन गरेका थिए । त्यहाँ उनले केही बिस्कुट उद्योगको समेत अवलोकन गर्ने मौका पाए । आफ्नै गाउँमा पाइने कच्चा पदार्थ प्रयोग भएको समेत देखे । त्यसले उनलाई उत्पादनमा लाग्नुपर्छ भन्नेतर्फ झन् प्रेरणा दियो ।

‘यो त हाम्रो क्षेत्रमा पनि सम्भव छ त भन्ने लाग्यो। पहिल्यैदेखि उत्पादनमा लाग्नुपर्छ भन्ने सोच भए पनि कुनै आइडिया नै थिएन,’ उनले भने, ‘त्यहाँ गएपछि भने मैले चकलेट वा विस्कुट केही उत्पादन गर्नुपर्छ भन्ने लागेको थियो। तर सफलता भने कोरोनाले गराइदियो, कोरोना नआको भए हुँदैनथ्यो ।’

चानसिंह काठमाडौंमा खाजाघर र भोजनालय चलाउँदै गर्दा गण्डकी प्रदेश सरकारले उद्योग व्यवसाय गर्नेलाई अनुदान दिने भन्दै योजना ल्यायो। थाहा पाएपछि उनले पनि त्यसका लागि आवेदन दिए । आवेदन दिएको केही समयमा पनि उनलाई गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ दिने भयो ।

kodo https://newskhari.com/storage/2024/11/IMG_3337.jpg

प्रदेश सरकारले १० लाख रुपैयाँ दिने भन्नु र कोरोना आउनु एकैपटक भयो । उनले काठमाडौंका भएका खाजाघर र भोजनालय बेची झिटिगुन्टा कसेर गाउँ फिरिसकेका थिए । सरकारले १० लाख रुपैयाँ अनुदान दिने भनेपछि उद्योग खोल्नका लागि उनलाई झन् दबाब बढ्यो ।

‘राज्यले सहयोग गर्छ भने मैले पनि केही त गर्नैपर्छ भन्ने लाग्यो,’ उनले थपे, ‘राज्यले १० लाख हालेपछि मैले पनि थपथाप पारेर साढे १२ लाख रुपैयाँ खोजेर हालेँ ।’ उद्योगका लागि चाहिने कुटानी पिसानी गर्ने मेसिन र पकाउने मेसिन ओभन लगायतका आधारभूत सामानहरू पोखरा, बागलुङ र बुटवलबाट ल्याए भने घरेलु सामानको प्रयोग गर्न मिल्ने ठाउँमा घरेलु नै प्रयोग गरे ।

कोदो नै किन?
‘अरुले भन्दा नयाँ गर्नुपर्छ भन्ने मेरो पहिल्यैदेखिको सोच हो,’ विगत स्मरण गर्दै उनले भने, ‘बजारमा गहुँ, जौ र मकैको बिस्कुट आए पनि कोदोको बिस्कुट आएको थिएन । मैले कोदोलाई ब्रान्डिङ गर्नुपर्छ भन्ने सोचका साथ यता लागेँ । सायद देशमै कोदोको बिस्कुट उत्पादन गर्ने हाम्रो उद्योग पहिलो हो ।’ गाउँमा रहेको कच्चा पदार्थ कोदोलाई ब्रान्ड बनाउन सके कोदोको उत्पादन बढ्ने उनको सोच छ ।

‘पछिल्लो समय कोदो खेती कम हुँदै आएको छ, संरक्षण गर्नुपर्ने अवस्थामा पुग्न थालेको कोदोलाई गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानसमेत उत्साहित हुन थालेका छन्’, उनले थपे ।
बिस्कुट बनाउनका लागि मुख्यतः कोदो, गहुँ, दूध, घ्यू, चिनी, तेलको प्रयोग हुन्छ । त्यसबाहेक लामो समयसम्मका लागि नबिग्रियोस भन्नका लागि केही प्रिजरभेटिभहरू प्रयोग हुन्छन् । ती प्रिजरभेटिभहरू भारत र काठमाडौंबाट आयात गर्ने गरेको उनी बताउँछन् ।

‘९९.९९ प्रतिशत कच्चा पदार्थ स्थानीय र नेपाली नै प्रयोग हुन्छ,’ उनी गर्व गर्दै भन्छन्, ‘कोदो र गहुँ लगायतका कच्चा पदार्थका लागि बागलुङ, पर्वत र गोरखाबाहेक अन्त जानुपरेको छैन ।’

उत्पादनको अवस्था
व्यावसायिक तरिकाले उत्पादन थालेको पहिलो दिन चानसिंहको उद्योगबाट ७० ग्रामको ६२ प्याकेट उत्पादन बिस्कुट उत्पादन भएको थियो । समयसँगै उद्योगलाई अद्यावधिक र क्षमता विस्तार गर्दै जाँदा केही महिना अघिसम्म दैनिक १५ सय प्याकेट उत्पादन गरिरहेका थिए ।
भारतबाट नयाँ मेसिनहरू भित्र्याएसँगै अहिले उत्पादनमा थप बढोत्तरी भएको छ। अहिले दैनिक चार हजार प्याकेटसम्म बिस्कुट उत्पादन भइरहेको छ । भारतबाट ल्याइएका मेसिनमध्ये सबैभन्दा ठूलो र अटोमेटिक प्याकिङ मेसिन जडान भएसँगै प्रतिघण्टा दुई हजार प्याकेटसम्मको उत्पादन हुने चानसिंह बताउँछन् ।

व्यवसायको सुरुवात दाजुभाइको लगनले भए पनि अहिले चानसिंहको उद्योगमा १२ जनाले त प्रत्यक्ष रोजगारी पाएका छन् ।

बजार व्यवस्थापन
थोरै उत्पादन हुँदा स्थानीय स्तरमै खपत भए पनि उत्पादनमा वृद्धि भएसँगै बजारीकरणको पनि ठूलो भूमिका रहन्छ । उत्पादित वस्तु निश्चित समयसम्म खपत नभइदिँदा उद्योगीलाई आर्थिक रुपमा नोक्सान त हुन्छ नै, त्यसले मनोवैज्ञानिक प्रभाव समेत पार्न सक्छ ।
अहिलेसम्म बागलुङ, पर्वत र पोखरामा उत्पादनअनुसार नै बिस्कुटको माग भएकाले चानसिंहले समस्या भोग्नुपरेको छैन । दैनिक एक हजारदेखि १२ सय प्याकेट बागलुङ बजारमै खपत भइरहेको छ भने त्यसबाहेक पर्वत, पोखरा र काठमाडौंमा समेत बिस्कुटको माग बढेको छ ।

‘दैनिक १२ सय प्याकेट बागलुङमै खपत हुन्छ, त्यति प्याकेट दिन नसके मलाई पसले दाइहरुले छाड्दैनन्,’ उनले खुसी हुँदै भने, ‘त्यसबाहेक पर्वत, पोखरा र काठमाडौं समेत माग बढेको छ । अमेरिकामा पनि सम्झौता गरेर पठाउने तयारी भइरहेको छ ।’
कोदोको बिस्कुट भनेपछि पोखराका मानिसले नयाँ स्वादका लागि प्रयोग गरिरहेका छन् ।

७० ग्रामको बिस्कुटको २० रुपैयाँ मूल्य पर्छ । एकपटक खाएपछि पनि दोहोरिने ग्राहकको संख्या बढिरहेको चानसिंह बताउँछन् । ‘नयाँ ग्राहकले नयाँ स्वादका लागि खरिद गर्नुहुन्छ नै,’ उनले भने, ‘पहिला नै बिस्कुट खाएका ग्राहक दोहोरिएर आउँदा बडो खुसी लाग्ने रैछ । त्यसले हामीलाई काम गर्न अझ धेरै प्रेरणा मिल्छ ।’

प्रदेश सरकारको सहयोगमा उद्योग खोलेका उनलाई अहिले स्थानीय सरकारले बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । काठेखोला गाउँपालिकाले नीति तथा कार्यक्रममा नै स्थानीय उत्पादनको बजारीकरणको विषय समेटेको उनको भनाइ छ ।

योजना
दिनको ६२ प्याकेटबाट उत्पादन थालेर प्रति घण्टा दुई हजार प्याकेट बिस्कुट उत्पादन गर्नेसम्मको अवस्थामा आइसकेका चानसिंहलाई उत्पादन विस्तार र बजार बिस्तारको भोक अझै मेटिएको छैन ।

आफूहरूजस्तो जोस भएका मानिसहरू सन्तोष मानेर रोकिन नहुने उनको धारणा छ । नयाँ मेसिन जडान भएसँगै अब उनले चिनीरहीत (सुगरफ्री) बिस्कुट उत्पादन गर्ने सोच बनाएका छन् ।

‘अबको हाम्राे योजना भनेको मधुमेह रोगका पीडितहरूका लागि सुगरफ्री बिस्कुटको उत्पादन हो,’ उनले थपे, ‘अहिलेको नर्मल बिस्कुटको उत्पादनलाई नियमित नै राख्छौँ, त्यसबाहेक सुगरफ्रि बिस्कुट अहिलेको हाम्रो पहिलो प्राथमिकता हो ।
त्यसबाहेक आलुको बिस्कुटको उत्पादनलाई पनि पुनः निरन्तरता दिने उनको चाहना छ । यसअघि कोदोको सँगसँगै आलुको बिस्कुट पनि उत्पादन गरिररहेका उनले धेरै मेसिन नहुँदा त्यसलाई रोकेका थिए ।

‘कोदोपछि हामीले उत्पादन गरेको आलुको बिस्कुट धेरै रुचाउनुभएको थियो । त्यसको उत्पादन थाल्दा यता कोदोको बिस्कुटको उत्पादन रोकिने भएकाले नचाहँदा नचाहँदै त्यसलाई थाँती राख्नुपर्यो’, उनले भने । २२ लाखबाट सुरु भएको उद्योग विस्तारको क्रममा रहेका उनले सात वर्षको अवधिमा स्तरोन्नतिका कामहरू पनि प्रशस्त गरे । व्यवसाय विस्तारसँगै लगानी पनि थप्दै जाने क्रममा पछिल्ला सात वर्षमा उद्योगमा एक करोडभन्दा बढीको लगानी भइसकेको छ ।

(खरी म्यागजिनबाट)

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित