बागलुङ । नेकपा (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेलले देशको परिस्थितिले फेरि माओवादीको खोजी भइरहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) बागलुङ जिल्ला समन्वय समितिको पूर्ण बैठकलाई बिहिबार गलकोटमा सम्बोधन गर्दै पौडेलले पछिल्लो परिस्थितमा माओवादीको आवश्यकता हुँदै गएको औंल्याएका हुन् ।
पौडेलले भने,-‘अहिले केपी ओली नेतृत्वको २ तिहाई गठबन्धनको सरकारका गलत क्रियाकलापका कारण जनतामा माओवादीप्रति सकारात्मक दृष्टिकोण बढिरहेको छ ।’
वर्तमान केपी ओली नेतृत्वको सरकार जनताको पक्षमा डेलिभरी दिन नसकेको, सुशासन र नागरिकमैत्री हुन नसकेको पाैडेलले अाराेप लगाए ।
उनले भष्ट्राचार विरुद्वको अभियानमा माओवादी नेतृत्वको सरकार नै अग्रपंक्तिमा रहेको भन्दै माओवादी केन्द्रको पक्षमा अहिले जनलहर बढिरहेकाे बताए ।
बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य चन्द्र बुढा सागर र नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेलगायतले बाेलेका थिए ।
बैठकले जिल्लाका १० वटै पालिकामा मंसिर दोस्रो हप्ताभित्र बैठक गर्ने र मंसिर मसान्तभित्र सबै पालिकामा सम्मेलन गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति बागलुङका संयाेजक राजिव घिमिरेले जानकारी दिए ।