कुनै पनि उद्योगले उपभोग गरेको बिजुलीको बिल बुझाउनु पर्छ । सर्वसाधारण नागरिकको हकमा पनि उनीहरूको पनि महसुल तिर्ने दायित्व समान रूपमा लागू हुनुपर्छ । हामीले उद्योगीको पक्ष लिएको वा विद्युतकाे बिल तिर्न पर्दैन भनेको होइन ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल पहिलो पुस्ताका सफल उद्यमी–व्यवसायी हुन् । दुई कार्यकाल महासंघको कार्यकारिणी समिति सदस्य भएका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
अध्यक्ष ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनको व्यावसायिक यात्रा करिब चार दशक लामो छ । वि.सं. २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका ढकालले २०४५ बाट आफ्नो व्यवसाय शुरू गरेका हुन् । त्यसपछि २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका हुन् ।
हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जनभन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरू नेपालसहित विश्व बजारमा स्थापित छन् । ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजार जनाभन्दा बढी प्रत्यक्ष र ४० हजार जनाभन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।
कुशलतापूर्वक महासंघको नेतृत्व गरिरहेका उनीसँग देशको वर्तमान आर्थिक अवस्था, मौद्रिक नीति र त्यसको प्रभावको सन्दर्भमा न्यूजखरीले गरेको कुराकानी:–
मुलुकको अहिलेको आर्थिक अवस्थालाई निजी क्षेत्रले कसरी हेरेको छ ?
देशको आर्थिक अवस्थालाई निजी क्षेत्रले गम्भीर रूपमा हेरिरहेको छ । हालको आर्थिक सुस्तता, व्यापार असन्तुलन, र आयात÷निर्यातको कठिनाइहरूले व्यवसाय सञ्चालन गर्न कठिन बनाएको छ । व्यापार घाटा बढ्दै गएको छ । उत्पादन घटेको छ । उद्योगीहरूको मनोबलमा कमी आएको छ । रोजगारी सिर्जना कम भएको छ ।
सरकार र निजी क्षेत्रबीच आर्थिक सुधारका लागि निरन्तर संवाद भइरहे पनि ठोस परिणामहरू आउन बाँकी छन् । आर्थिक संरचनामा सुधार गर्न तत्कालै नीतिगत पहलको आवश्यकता छ । तथापि, निजी क्षेत्रले देशको दीर्घकालीन आर्थिक विकासका लागि नीतिगत स्थिरता र वित्तीय सुधारको अपेक्षा गरेको छ, जसले लगानी वातावरणलाई थप आकर्षक बनाउन सक्छ ।
खुकुलो गरी आएको मौद्रिक नीतिले निजी क्षेत्र उत्साहित छ भन्छन् नि, हो ?
खुकुलो मौद्रिक नीतिले निजी क्षेत्रलाई केही मात्रामा उत्साहित बनाएको छ । विशेष गरी बैंकको व्याजदर घटेको र ऋण तथा लगानीमा खुकुलो हुँदा लगानीकर्तालाई राहत महसुस भएको छ । कोरोना महामारीदेखि समस्यामा परेका साना र मझौला उद्यमहरूले केही राहत महसुस गरेका छन् । मौद्रिक नीति प्रभावकारी रूपमा कार्यान्वयन भयो भने पूँजी बजारमा स्थिरता ल्याउन र नयाँ लगानी आकर्षित गर्न मद्दत पुग्नेछ भन्ने हाम्रो विश्वास छ ।
निजी क्षेत्रलाई अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रले अनुमगन गर्ने भनिएकाे थियाे, यसमा निजी क्षेत्रको समर्थन कि विरोध ?
निजी क्षेत्रले पारदर्शिता र उत्तरदायित्वमा विश्वास राख्छ । हामी सदैव नीतिगत सुधार र अनुशासनको पक्षमा छौँ । तर अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रको अनुमगनले व्यावसायिक गतिविधिमा अनावश्यक तनाव थप्न नहुने हाम्रो धारणा हो । व्यवसायको स्वायत्तता र प्रतिस्पर्धात्मकतामा प्रतिकूल प्रभाव नपार्ने गरी नियमन गर्नुपर्छ । नियमनका नाममा आधा दर्जन बढी संस्था किन चाहियो भन्ने हाम्रो प्रश्न हो ।
धेरै नियमन गर्दा स्वदेशी र विदेशी दुवै लगानी बढ्न सहज हुँदैन । नियमन बढी हुँदा प्रक्रिया झन्झटिलो हुने भएकाले नियमन कम गरौं भन्ने हाम्रो मत हो । हामी भ्रष्टाचारविरुद्ध लड्न सहयोग गर्न तयार छौँ, तर यस प्रकारका अनुमगनहरू व्यवसायमैत्री हुनुपर्छ, जसले व्यवसायीहरूको मनोबल गिराउने होइन, प्रोत्साहित गर्ने वातावरण बनोस भन्ने चाहन्छौँ ।
पछिल्लो समय साना उद्योगहरू क्रमशः बन्द भइरहेका छन्, यसमा निजी क्षेत्रले ठूला व्यवसायलाई मात्र हेर्यो, सानालाई हेरेन भन्ने आरोप छ नि ?
साना उद्योगहरूको बन्द हुने क्रम एउटा गम्भीर चुनौती हो । उच्च ब्याजदर, कच्चा पदार्थको महँगोपन र बजारको कमीजस्ता कारणहरूले साना उद्यमहरूमा समस्या ल्यायो । तर, महासंघले ठूला व्यवसायलाई मात्र हे¥यो भन्ने आरोप पूर्णतः गलत हो । महासंघमा पनि साना तथा मझौला व्यवसायको बाहुल्यता छ ।
हामीले साना उद्योगको सुदृढीकरणमा पनि विशेष ध्यान दिएको छौँ । साना उद्योगहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् र महासंघले उनीहरूको संरक्षण र दिगोपनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसमा साना व्यवसायलाई वित्तीय सहयोग, तालिम, बजार पहुँच, र प्रविधि हस्तान्तरणका योजना अघि बढाइएको छ । त्यसैले, साना व्यवसायको विकासलाई प्रोत्साहन गर्ने हाम्रो प्रमुख प्राथमिकता हो ।
नेपाली युवाहरू देशमा सम्भावना छैन भनेर विदेश गइरहेका छन्, तपाईं यहाँ सम्भावनै सम्भावना छ भन्नुहुन्छ, कहाँ ग्याप भयो ?
नेपालमा सम्भावना छ भनेर मैले भन्ने गरेको छु । वास्तवमै मैले यहाँ धेरै सम्भावनाहरू देखेको छु । सूचना प्रविधि, पर्यटन, कृषि, जलविद्युत, र साना तथा मझौला उद्यमका क्षेत्रमा अत्यधिक सम्भावना छ । पर्यटनमा नयाँ गन्तव्यहरू विकास गर्न सकिन्छ, कृषि क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गरेर उत्पादन क्षमता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा पनि नवप्रवर्तन गर्न सकिन्छ ।
युवा वर्गलाई देशमै रोजगारी र उद्यमशीलताको अवसर दिन सकियो भने उनीहरू विदेश जाने सोच बदल्न सक्छन् । महासंघले पनि युवाहरूलाई नेपालमै उद्यमशील बन्न प्रेरित गर्न विभिन्न तालिम र कार्यक्रमहरू अघि बढाइरहेको छ ।
विद्युत् महसुल भुक्तानीका विषयले सडकदेखि संसदसम्म चर्को बहस भयो । उद्योगीको पक्षमा महासंघ पनि लचिलो देखिएको छ, के सर्वसाधारण नागरिकले विद्युत्को महुसल नतिर्दा लाइन काटिने, उद्योगीलाई सहुलियत दिनुपर्छ भन्ने तपाईंहरूको धारणा हो ?
यस विषयमा हामी प्रष्ट छौँ । कुनै पनि उद्योगले उपभोग गरेको बिजुलीको बिल बुझाउनु पर्छ । सर्वसाधारण नागरिकको हकमा पनि उनीहरूको पनि महसुल तिर्ने दायित्व समान रूपमा लागू हुनुपर्छ । हामीले उद्योगीको पक्ष लिएको वा विद्युत्को बिल तिर्न पर्दैन भनेको होइन । यस विषयमा नेपाल विद्युत् प्राधिकरण र उद्योगीको कुरा बाझिएकोले यसको न्यायिक निरुपणका लागि आयोग बनाउने र आयोगको सुझाव बमोजिम हुनुपर्छ भनेर महासंघले भनेको हो ।
नेपालमा लगानी भित्र्याउन विदेशमा गएर पनि आह्वान गरिरहनुभएको छ, त्यहाँ जाँदा नेपालप्रति उनीहरूको दृष्टिकोण कस्तो पाउनुभयो?
नेपालमा लगानीको सम्भावना विदेशी लगानीकर्ताहरूले सकारात्मक रूपमा हेरेका छन् । उनीहरूले नेपालको प्राकृतिक स्रोत, पर्यटन क्षमता, र जलविद्युत्को अवसरलाई उच्च मूल्याङ्कन गरेका छन् । तर, उनीहरूले मुख्य रूपमा नीतिगत स्थिरता, कानूनी सुरक्षा, र प्रशासनिक प्रक्रियामा स्पष्टता चाहन्छन् ।
नेपालमा व्यवसाय सञ्चालन गर्दा व्यावसायिक वातावरण सहज हुनुपर्छ भन्ने उनीहरूको धारणा छ। हामीले उनीहरूलाई आश्वस्त गर्न सकेका छौँ कि नेपालमा स्थिर नीतिगत वातावरण बनाउनेतर्फ ध्यान दिइरहेको छ, र दीर्घकालीन लगानीको सुरक्षा सुनिश्चित गर्न निजी क्षेत्रले पनि ठोस पहल गर्दै आएको छ ।
अन्त्यमा, साना उद्योगीहरूका लागि तपाईंका सुझावहरू के–के छन् ?
साना उद्योगीहरूका लागि मेरो प्रमुख सुझाव भनेको नवप्रवर्तन र आत्मनिर्भरतामा जोड दिनु हो । साना उद्योगहरूले जोखिम लिन तयार हुनुपर्छ, नयाँ प्रविधि र कार्यशैलीलाई अंगाल्नुपर्छ । बदलिँदो समयसँगै, व्यवसायहरूमा नवीनता र दिगोपनलाई प्राथमिकता दिन जरुरी छ ।
साथै, सरकारी योजनाहरू र निजी क्षेत्रबाट प्राप्त हुने वित्तीय तथा प्राविधिक सहयोगलाई पूर्ण रूपमा उपयोग गर्न आवश्यक छ । साना उद्योगहरूले प्रविधिको सही प्रयोग गरेर उत्पादन र वितरण प्रणालीलाई सुधार गर्न सक्नुपर्छ । बजारको पहुँच विस्तार गर्न र गुणस्तरीय उत्पादनमा ध्यान दिएर, उनीहरूले आफ्नो व्यवसायलाई स्थिर र प्रतिस्पर्धात्मक बनाउन सक्नेछन् । यसका साथै, संस्थागत नेटवर्क र तालिमहरूमा सहभागी भएर आफूलाई निरन्तर अपडेट गराउनु पनि महत्वपूर्ण छ ।