काठमाडौं । भारतको बैंग्लोरमा एक जना नेपाली युवतीको क्रूर हत्या गरेको अभियोग लागेका युवाले आत्महत्या गरेका छन् ।
मुक्ति रञ्जन रोय नाम गरेका ती युवाले महालक्ष्मी नामकी नेपाली युवतीको हत्यागरी उनको शवलाई धेरै टुक्रा पारेर फ्रिजमा राखेको आरोप लागेको थियो ।
प्रहरीले अभियुक्तको निरन्तर खोजी गरिरहेको थियो । तर सेप्टेम्बर २५ मा मुक्तीको शव ओडिशाको एउटा गाउँ नजिकै भेटिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
इन्डिया टुडेको रिपोर्ट अनुसार मुक्ति रञ्जन ओडिशाको भद्रक जिल्लाको भुइनपुर गाउँ नजिकै मृत फेला परेका हुन् ।
हत्यापछिबैंग्लोर प्रहरीले उनको विभिन्न राज्यमा खोजी गरिरहेको थियो । रिपोर्टका अनुसार रोयले एक सुसाइड नोट पनि छोडेका छन्, जसमा उनले हत्या स्वीकार गर्दै यो अपराध गरेर गल्ती गरेको लेखेका छन् ।
ओडिशा पुलिसले उनीविरुद्ध पहिले नै अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिसकेको छ। बैंग्लोरको विनायक नगरमा रहेको तीन तले घरमा उनले ती युवतीको हत्यागरी शव ३० टुक्रा पारेर फ्रिजमा राखेका थिए ।
महालक्ष्मी २०२३ कात्तिकदेखि बसप्पा गार्डेन नजिकै पाँचौं क्रस पाइपलाइन रोडमा भाडाको घरमा बस्दै आएकी थिइन् । उनको विवाह हेमन्त दाससँग भएको थियो । उनीहरूको विवाह भएको ६ वर्ष भएको र उनीहरूको एक छोरी पनि छिन् ।
तर, घरायसी विवादका कारण दुवै जना नौ महिनाअघिदेखि अलग बस्न थालेका थिए ।