काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाको मृत्यु विष सेवनबाट भएको पाइएको छ ।
नाबालिकाद्वयकी आमा अस्मिता कार्कीले प्रहरीसँगको बयानमा उक्त तथ्य खुलाएकी हुन् । बयानमा कार्कीले पहिला आफूले विष पिएको र पछि छोरीहरूलाई विष पिलाएको बताएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार अस्मिताले विषादी सेवन गरेपछि पेट पोल्न थालेको र त्यसपछि अब बाँच्दिन भनेपछि छोरीहरूलाई पनि विष खुवाएको बयानमा उल्लेख गरेकी छिन्।
प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमान्को रिसले छोरीहरूलाई विष पिलाएर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
अस्मिताले श्रीमान्ले गाली गरेकै कारण छोरीहरूको हत्या गरेको स्वीकार प्रहरीमा गरेकी एसपी कार्कीले जानकारी दिए ।
घटनाबारे जानकारी दिन बुधबार प्रहरीले पत्रकार सम्मेलन गरेको थियो ।
पत्रकार सम्मेलनमा अस्मिताले बारम्बार श्रीमान्ले मार्ने धम्की दिएका कारण आफूले विष सेवन गरी छोरीलाई पनि विष पिलाएको बताएकी थिइन् । उनले भनिन्, ‘पटक(पटक छोरी र तँलाई मार्छु भनेर श्रीमान्ले भनेपछि डरले मैले पनि विष सेवन गरेँ र छोरीहरूलाई पनि पिलाएँ ।’
सुन्दरहरैँचा–७ गोठ गाउँमा नारायण न्यौपानेको केरा घारीभित्र नाबालिकाहरू एक वर्षीया आईका र तीन वर्षीया अर्पणा गत शनिबार दिउँसो मृत फेला परेका थिए ।
घटनाको पाँच दिनपछि प्रहरीले झापाको बिर्तामोडबाट अस्मितालाई नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीले अस्मितालाई विक्षिप्त अवस्थामा भेटेको थियो । उनको कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
अस्मिताले पहिला आफैं विषादी सेवन गरे नगरेको भने खुल्न बाँकी रहेको जानकारी एसपी कार्कीले दिए ।
प्रहरीले अस्मितालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत मोरङमा म्याद थपेको छ ।