कास्की । नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ । बागलुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी, कास्कीका प्रकाशबहादुर केसी र पर्वतका मित्रलाल बस्यालको नाम एमाले टुंग्याएको छ ।
संसदीय दलका नेता खगराज अधिकारीले यसपटक मन्त्रीमा कुनै अनुहार नदोहोरिने बताएका थिए । आइतबारमात्र बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्यक्षेत्र टुंग्याउँदै संख्या पनि ९ बनाएपछि एमालेले पनि मन्त्री हुनेको नाम टुंगो लगाएको हो ।
गण्डकीमा ९ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको छ । एमालेका चारै जना मन्त्रीको आजै सपथ गर्ने तयारी छ ।