काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय तर्फको जहाज उडानमा चरम लापर्वाही गरेको पाइएको छ । निगमको एयरवसको ए३२० नामक (एन एकेडब्लु कलसाइनको जहाज ८ भदौ ८ गते (शनिबार) प्राविधिक समस्या आएर ग्राउन्डेड भएको थियो ।
उक्त जहाज उडाउन निगमका कर्मचारीले एउटा खोल्नुपर्ने हाइड्रोलिक चेक जाँचको लागि अर्कै खोलेको र हाइड्रोलिक लिकेज भएको टाल्न सुपर ग्लु प्रयोग गरेको पाइएको छ ।
निगमको प्राविधिक टिमले बुधबारबाट निगमको दुईवटै वाइडबडी ग्राउण्डेड हुने भएपनि जसरी पनि उडान गर्नुपर्ने दबाब परेको भन्दै हाइड्रोलिक लिकेज टाल्न सुपर ग्लुको प्रयोग गरेको निगम स्रोतले जनाएको छ ।
निगमको चरम लापरवाही र प्राविधिक कर्मचारीले कमजोरी गरेर जहाज उडान सुरक्षामा सम्झौता गर्न खोजेको भन्दै हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा उजुरी पर्यो । निगमको जहाज मर्मतमा कमजोरी भएको उजुरीपछि आवश्यक निरीक्षणबाट मात्रै जहाज उडानु भनेर प्राधिकरणले उक्त जहाजको उडानमा रोकसमेत लगाइदिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेद्र भुलले भने ‘जुन तरिकाले मर्मत गरेको भन्ने गुनसो आएको छ त्यो सही छ छैन भनेर जाँचबुझ गर्न एक न्यारोडीको उडानमा रोक लगाएको हो । उक्त जहाजको विषयमा प्राधिकरणका प्राविधिकले निरीक्षण गरिरहेका छन् । मंगलबारदेखि नै भएको निरीक्षण पूरा नहुँदा बुधबार पनि उक्त जहाज रिलिज हुन सकेको छैन् ।’
प्राधिकरणको प्राविधिक टोलिली आवश्यक निरीक्षण गरेर ठीक छ नभनेसम्म उक्त जहाज उडानमा रोक लागि नै रहने पनि उनको भनाइ छ ।
निगमले उक्त जहाज मर्मतका क्रममा हाइड्रोलिक लिक टाल्न सुपर ग्लु प्रयोग गरेको भन्ने उजुरी प्राधिकरणमा पुगेको छ । प्राधिकरणले हवाई उडान सुरक्षामा कुनै कमजोरी हुन नदिन जहाजको आवश्यक निरीक्षण गर्न खोजेको पनि उनले बताए ।
प्राधिकरणले नियमन गर्न खोज्दा एकातिर निगमकै कर्मचारी अनावश्यक कडाइ भयो भन्दै हिड्ने र अर्कोतर्फ हवाई सुरक्षामा कमजारी गर्दासमेत कडा प्राधिरकणले वेवास्ता गर्यो भन्ने गरेका छन् ।
वायुसेवा निगमका अनुसार मंगलबार बिहान काठमाडौंबाट हङकङ जानुपर्ने निगमको एक न्यारोबडी जहाज लापरवाहीपूर्ण तरिकाले मर्मत गरेको भन्दै ग्राउण्डेड भएपछि यसले गर्ने उडान तालिका प्रभावित भएको हो ।
निगमले दुई वटा वाइडबडी सीचेकमा पठाउने भएपछि बुधबारदेखि न्यारोबडीको मात्रै उडान तालिका बनाएको थियो । त्यसमा पनि एउटा मात्रै उडेका कारण यसका अरु उडान प्रभावित हुँदा दैनिक ५ सय यात्रुलाई समस्या परिरहेको निगमकै कर्मचारीको भनाइ छ ।