काठमाडौं । ‘काभा वुमन्स नेसन्स लिग–२०२४’मा सहभागी भएका नेपाल एपीएफ क्लबका तीनजना महिला भलिबल खेलाडीलाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ ।
उनीहरूलाई बुधवार प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन् ।सम्मानित हुनेमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट छन् ।
‘लामो समयदेखि एपीएफ क्लबमा आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गरी देश र संगठनको छवि उच्च राख्न खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो,’ सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
काभा लिग यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न भएको थियो । जहाँ नेपाली राष्ट्रिय भलिबल टोली उपविजेता बनेको थियो ।
उक्त लिग तथा अन्य भलिबल प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको छ ।
बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेले बुधवार दर्ज्यानी चिन्ह प्रदान गरे ।
यसअघि २२औं सशस्त्र प्रहरी दिवस–२०७९ को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको थियो ।