काठमाडौं । सरकारले २२ जना सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।
एक मन्त्रीका अनुसार अर्थ सचिवमा राजश्व सचिव डा. राम प्रसाद घिमिरेलाई ल्याइएको छ । त्यहाँका सचिव मधुकुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय पुर्याइएको छ । त्यसैगरी राजश्व सचिव घिमिरेको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) दिनेश घिमिरे आएका छन् ।
सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएका छन् भने उपाध्यायको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला आएका छन् । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल रक्षा मन्त्रालयमा आएका छन् । रक्षा मन्त्रालयका सचिव किरण राज शर्मा वित्त आयोगमा पुगेका छन् ।