काठमाडौं । पूर्व सभामुख ओनसरी घर्तीले खेल क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने बताएकी छन् । मंगलबार नेपाल क्वानकिडो संघको प्रथम राष्ट्रिय अधिवेशनमा बोल्दै उनले राज्यले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी हुन् ।
‘पहिले जो राज्य शक्तिको नजिकमा रहेका थिए उनीहरूले खेल क्षेत्रमा अवसर पाएका थिए,’ उनले भनिन्, ‘गणतन्त्रपछि आमयुवाहरूले पनि यस क्षेत्र अवसर पाएकाे देख्छु ।’
१० वर्षे जनयुद्धलगायत जनआन्दोलनबाट धेरै कुराहरू प्राप्त भएको बताउँदै खेलाडीहरूले देखेको सपना चाँडै पूरा हुने विश्वास व्यक्त गरिन् । गणतन्त्रपछि खेलकुद क्षेत्रमा धेरै युवाहरूले चासो राखेको बताउँदै अझै पनि खेल क्षेत्रका लागि प्रर्याप्त बजेटको व्यवस्था नभएको सुनाइन् ।
यसअघि पनि बजेटको अभावमा खेलाडीहरूले आफ्नो प्रतिभा देखाएर नेपाललाई विश्वमाझ चिनाउने काम गरेको उल्लेख गरिन् । ‘गत वर्षहरूभन्दा खेल क्षेत्रमा खेलाडीहरूले राम्रो प्रर्दशन गर्दै आइरहेका छन्,’ उनले भनिन्, ‘सबैको प्रयासले खेल क्षेत्रलाई राज्यले हेर्न दृष्टिकोण विस्तारै परिर्वतन हुँदैछ ।’