काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशुलीमा बेपत्ता भएका गाडीका यात्रुमध्ये अहिलेसम्म १८ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये ४ जनाको अझै सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
६ दिनअघि हराएका दुई वटा गाडी सशस्त्र प्रहरीले खोजिरहेको छ। १८ वटा शव भेटिए पनि गाडी भने अझै फेला पर्न सकेको छैन। भेटिएका शवमध्ये बुधबार बिहानसम्म १४ जनाको सनाखत भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
४ जना पुरुषको सनाखत हुन बाँकी रहेको उनले बताए। अन्य शव र बसको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न नसकेको जनाइएको छ।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशुली नदीमा दुई बस बेपत्ता भएका थिए।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस गत असार २८ गते बिहान त्रिशुली नदीमा बेपत्ता भएका थिए।