काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै मन्त्रीका विषयमा चर्चा चुलिएको छ । एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिने निश्चितजस्तै छ ।
एमालेको भागमा पर्ने अरू मन्त्रालयमा मन्त्रीहरूको नाम टुंगो लगाउने अन्तिम गृहकार्य भइरहेको छ । स्रोतका अनुसार, एमालेबाट सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्दै छन् । यस्तै, यसअघि मन्त्री बनिसकेका जुलीकुमारी महतो, पदम गिरी र दामोदर भण्डारीसहित विद्या भट्टराईलगायत मन्त्री बन्ने स्रोतको दाबी छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार (भोलि) बिहान ११ बजे उनले पद तथा गोपनीयताको शपथ लिने गरी राष्ट्रपतिको कार्यालयले समय निर्धारण गरेको छ ।