काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिनसक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा राखेका छन् ।
शनिबार काठमाडौंमा आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारमा द्रुततर रुपमा विकास भइरहेको सूचना प्रविधिबाट उनीहरुले यथेष्ट लाभ लिइरहेका दृष्टान्त पेश गर्दै नेपालले पनि सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए ।
उनले भने “विश्वका अरु देशहरुमा जस्तै नेपालमा पनि पछिल्ला बर्षहरुमा सूचना प्रविधिका क्षेत्रमा द्रुत विकास भइरहेको छ र यसमा नेपालको युवा बर्ग अहिले पनि निकै नै ठूलो सङ्ख्यामा यस क्षेत्रमा लागिरहेकाले देशमा सूचना प्रविधि उद्योगको विकास र विस्तार गरी यसको सेवा निर्यातबाट हामीले लाभ लिन सक्नुपर्दछ ।”
युवा जनसङ्ख्या धेरै भएको देश नेपालमा अहिले ठूलो सङ्ख्याका युवाहरु सूचना प्रविधि विषयको पठनपाठन तथा उद्यमशीलताको विकासमा लागिरहेकाले नेपालमा सूचना प्रविधि उद्योगको विकास गरी यसबाट सेवा निर्यातको अधिक सम्भावना रहेको उनको तर्क थियो ।
नेपाल सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत् आगामी दशकलाई सूचना प्रविधि दशकका रुपमा घोषणा गरी हरेक प्रदेशमा सूचना प्रविधि पार्क निर्माण गर्ने, १५ लाख रोजगारी सिर्जना गर्ने र हरेक बर्ष नेपालबाट कम्तीमा पनि तीन खर्ब रुपैयाँ बराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य लिएको प्रसङ्ग उल्लेख गर्दै यसका लागि यसै बमोजिमको लगानीको वातावरण राज्यले निर्माण गनुपर्नेमा जोड दिए ।