काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यतिबेला (शनिबार बिहान) गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि मौसम पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिकदेखि मौसम साधारणतया बदलीको अवस्थामा छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानका साथै मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।