काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज (शुक्रवार) संसदबाट विश्वासको मत लिँदै छन् । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रचण्डले पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएपछि एमालेले असार १९ गते समर्थन फिर्ताको निर्णय गरेको थियो ।
२०७९ पुस १० गते प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् । सोही वर्षको पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका प्रचण्डले पछिल्लोपटक गत जेठ ७ गते विश्वासको मत लिएका थिए ।
सरकारलाई दिएको समर्थन फिर्तासँगै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न एमाले र कांग्रेसले प्रचण्डसँग आग्रह गर्दै आएका थिए । तर, प्रचण्डले भने संसद् फेस गर्ने बताउँदै आएका छन् ।
प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न बिहीवारसम्ममा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टीसहितका दलले ह्वीप जारी गरिसकेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
यस्तोमा कांग्रेस र एमालेले आज नै नयाँ प्रधानमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन नसक्ने निश्चित रहेकाले शुक्रवारको संसद् बैठकलगत्तै राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी गर्ने तयारी दुई दलले गरेका हुन् ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूसँग ८० प्रतिशत सांसद रहेको भन्दै नै आजै प्रधानमन्त्रीमा दाबेदारी गर्ने जानकारी दिए ।