काठमाडौं । मोरङको विराटनगरमा एकजना युवकको हत्या भएको छ। गएराति दुई समूहबचि झडप हुँदा एक युवकको मृत्यु र दुई युवक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।
मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको चोट छ। प्रहरीका अनुसार मृत्यु हुने युवक मोरङकै कटहरी गाउँपालिका १ जमटोकीका २१ वर्षीय करण कामत हुन् । कटहरी–१ कै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते छन्। उनीहरुको शरीरमा धारिलो हतियारको चोट रहेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
‘गएराति देखिको खोजतलासपछि हामीले तीन युवकलाई पक्राउ गरेका छौँ,’ बस्नेतले भने, ‘राति एक्कासी सडकमा भेट भएपछि दुई समूहबीच विवाद भएको र सोही क्रममा छुरा प्रहारबाट एक युवकको मृत्यु र दुई घाइते भएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ।’ सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका(२ स्थित सडकमा घटना भएको हो।
घाइते दुबै युवकलाई विराटनगरमै विराट टिचिङ अस्पतालमा सामान्य उपचार पछि प्रहरीले थप उपचारको लागि विराटनगरकै नोबेल अस्पतालमा लगेको छ। घाइतेमध्ये अमन रायको अवस्था चिन्ताजनक छ।
मृतक कामतको छाती र कोखामा चक्कु प्रहार गरको गहिरो चोट छ। गम्भीर अवस्थाका अमनको कोखा र ढाडमा धारिलो हतियार प्रहार गरेको जस्तो चोट रहेको बस्नेतले जानकारी दिए। घाइते मण्डलको पाखुरा र ढाडमा चोट छ। घटनास्थलबाट एक थान मोवाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।