काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत माग्ने समय नजिक आउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले सरकारी निवास छाडेका छन् । रास्वपाबाट सभापति रवि लामिछानेसहित डीपी अर्याल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ सरकारमा सहभागी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते संसद्मा विश्वासको मत लिने भएका छन् । तर उनले विश्वासको मत पाउने सम्भावना देखिंदैन ।
कांग्रेस-एमाले समीकरण बनेसँगै एमालेले सरकारलाई लिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । संवैधानिक अधिकार प्रयोग गरेर प्रचण्डले विश्वासको मत लिने बेला आफूलाई सहयोग गर्न रास्वपाका मन्त्रीहरूलाई आग्रह गरेपछि उनीहरूले राजीनामा दिएका छैनन् ।
राजीनामा नदिए पनि चारै जना मन्त्रीले सरकारी आवास छाडेका हुन् । उपप्रधान एवं गृहमन्त्री लामिछाने र उपसभापति अर्यालले असार १८ गते नै आवास छाडेका थिए ।
खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सोमबार मात्रै छोडेका हुन् । उनले आफू चढेको गाडी र गार्डहरू पनि फिर्ता गरेको मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री श्रेष्ठले पनि आवास छाडिसकेकी छिन् ।
सरकारबाट बाहिरिएपछि पनि आवास छाड्न आनाकानी गर्ने अन्य दलका केही मन्त्रीको प्रवृत्तिलाई भने रास्वपाले चिर्न सफल भएको छ ।