ओशो तपोवनका संस्थापक रहनुभएका बोधिसत्व स्वामी आनन्द अरुण विगत ५५ वर्षदेखि ध्यान र ओशो दर्शनको प्रचार गरिरहनुभएको छ। आजबाट ८१ वर्ष टेक्नु भएका उहाँमा जोस जाँगर भने कुनै युवामा भन्दा कम छैन। आफ्नो दैनिकी योग र ध्यानबाट सुरु गर्ने र दिनभर ओशोको कार्य गर्नुहुने उहाँ दिनको अन्त्य भने आरती एवम् प्रार्थनाबाट पूरा गर्नुहुन्छ।
सधै आनन्दीत मुद्रामा देखिनुहुने अरुण स्वामी आफ्नो आनन्दको रहस्य नियमित ध्यान र गुरुको कृपा हो भन्नुहुन्छ। मृदुभाषी र सरल स्वभावका स्वामीसँग ध्यान शिविर गर्न धेरै जना लालायीत हुने गर्दछन्। लामो समयसम्म अविराम साधनाको प्रतापले नै हुनुपर्छ, उहाँको निकटमा मानिसहरूले गहिरो ध्यान र आनन्दको अनुभूति गर्दछन्। ध्यान गर्न अल्छी गर्नेलाई भने चुट्किला सुनाएर हसाँउने उहाँको स्वभाव छ ।
बाल्यकालदेखि नै सन्त महात्माहरूको सत्संग गर्न रुचाउने उहाँले ८ जना गुरुहरूबाट दिक्षा लिनुभयो, तर सोचे अनुरूपको आध्यात्मिक जागरण नभएकोले सन्तुष्ट भने हुनुभएन । सन् १९६९ मा आचार्य रजनिश (ओशो) लाई पहिलो पटक भेट्नु भएका उहाँले त्यसपछि भने वास्तविक गुरु भेटेको अनुभुति गर्नुभयो। ओशोकै निर्देशनमा उहाँले नियमित ध्यान र नेपालमा ओशोको प्रचार गर्न सुरु गर्नुभयो ।
आफ्नै घरमा ध्यान केन्द्र खोल्न गुरुको निर्देशन थियो। बिहान उठेर आफ्नो कोठा खाली गरेर त्यहीं साधकहरुलाई ध्यान सिकाउनुहुन्थ्यो। प्रारम्भिक दिनहरूमा ध्यानका प्यासी खोज्नु पनि चुनौती थियो। न्युरोडको पिपलबोटमा ओशोको पुस्तक बेच्दा पुलिसले गिरफ्तार गर्यो। एउटा पुस्तकको नाम साइलेन्ट एक्सप्लोजन देखेर प्रहरीलाई बम बनाउने कला सिकाएको होला भन्ने लागेछ।
ओशोले सन् १९८४ मा स्वामी आनन्द अरुणलाई बोधिसत्वको पहिचान दिनुभएको थियो । अमेरिकामा रहेको कम्युन तोडिएपछि ओशोले आफूले अब मिस्ट्री स्कूलमार्फत कार्य गर्नेबताउनु भयो र त्यसमा स्वामी आनन्द अरुणलाई ध्यान र योगको आचार्य नियुक्त गर्नुभएको थियो। भौतिक आँखाहरूले देख्नसकिने कुराहरू सिमित हुने गर्दछन्, तर त्यसको केही वर्षपछि ओशो तपोवनको स्थापना भएको यथार्थ भने हामी माझ जगजाहेर छ। धार्मिक खोल ओढेका केही अन्तराष्ट्रिय शक्तिले ओशो कै शिष्यहरू प्रयोग गरेर उहाँको सम्पूर्ण कार्य नष्ट गर्ने प्रपञ्च गरे ।
मानव कल्याणको निमित्त उदाउँदै गरेको यो नयाँ धर्म जोगाउनु पर्ने अस्तित्वगत आवश्यकता भने स्वामी आनन्द अरुणमार्फत नेपाल भूमिले यो गौरव प्राप्त गर्यो। आज नेपालमा ६ वटा ओशो कम्युन र सयौं ध्यान केन्द्रहरू खुलेका छन्। ओशो तपोवन र अरुण स्वामी कै प्रेरणाले विश्वका प्रमुख शहरहरुमा पनि ध्यान केन्द्रहरू पुनः खुल्न थालेका छन्।
यहाँबाट दीक्षित सन्यासीको संख्या एक लाख नाघिसकेको छ। राष्ट्रको कतिपय भाग्य तत्कालै बुझ्न नसकिएला, त्यो पूर्वानुमान मात्रै पनि हुनसक्छ, तर वर्तमानमा सामान्य लाग्ने केही घटनाले दीर्घकालमा देशको सौभाग्य अवश्यै कायम गर्न सक्छ । नेपालमा ओशो दर्शनको बढ्दो लहरले सम्पूर्ण राष्ट्र ओशोमय बन्ने संकेत गरिरहेको छ।
मानव मुक्तिको लागि रहस्यदर्शी ओशोले सयौं ध्यान पद्धतिहरू आविष्कार गर्नुभएको छ। जीवन र जगतबारे बोल्नुभएका उहाँका हजारौं प्रवचनहरू छन्। ओशोको निकटस्थ रहेकाहरुले उहाँको महापरिनिर्वाण (देह त्याग) पछि ती सम्पदाहरू संरक्षण गर्नुको सट्टा तिनलाई नष्ट गर्न थाले, विश्वभरिबाट ध्यान केन्द्रहरू बन्द गराउन थाले। स्वामी आनन्द अरुणले भने नेपालको भूमिमा ओशोको दर्शनलाई जीवन्त राख्नु भयो साथै दुनियामा पुनः फैलाई रहनुभएको छ।
सन् १९८५ मा अमेरिकाको रजनिशपुरममा ओशोसँगको एक अन्तरंग भेटमा स्वामी आनन्द अरुणलाई कुनै विशेष आध्यात्मिक अनुभूति भएको थियो। सँगै रहेकी अर्की ओशो शिष्यामा योग लक्ष्मी भने ओशोको पाउमा पूर्ण जागृति हुनुभयो। त्यस घटना पश्चात स्वामी आनन्द अरुणको व्यक्तित्व र चेतनाले नयाँ उचाई लिएको पाइन्छ। स्वामी आनन्द अरुण ध्यान र भक्ति दुवैको संगम हुनुहुन्छ।
भक्तको हातमा आफ्नो गुरुको धर्म ध्वजा परेकै कारण आज ओशोको दर्शन जीवन्त रहन पायो। सन्त नेता किसुनजीको बारे स्वामी आनन्द अरुण भन्नु हुन्छ कि नेपालले धेरै पुण्य गरेको हुनाले नेपालले उहाँजस्तो नेता पायो । बुद्ध, सीता, अस्ठाबक्र, जनक जस्ता विभूति जन्माएको नेपाल भूमिको पुण्य पक्कै धेरै थियो जसका कारण यसले अरुण स्वामी जस्तो अध्यात्म पुरुष साथै भक्त यस धर्तीमा जन्मायो। यस्ता पुण्यात्माको जन्म नै यस घर्तीको लागि अहोभाग्य हो।
बुद्धलाई यस धर्तीले जन्मायो तर उहाँको धर्म यस धर्तीले जोगाउने सौभाग्य पाएन। ओशो भारतमा जन्मिनु भयो, तर उहाँको धर्म नेपाल भूमिले जोगाउने मौका पाएको छ र यसको श्रेय स्वामी आनन्द अरुणलाई जान्छ। नेपालको शाब्दिक अर्थ धर्मको पालन गर्ने स्थान हो, यो प्राचीन सौभाग्य नेपालले वर्तमान युगमा फेरि पाएको छ । ओशोको पछाडि भौतिक समृद्धि पनि आउने गर्दछ। ओशोको धर्म यस भूमिले संरक्षित गरेमा नेपालको भौतिक उन्नति पनि पक्कै हुनेछ।
नेपालका राजनीतिज्ञहरुमा अध्यात्मप्रति झुकाव बढेको खण्डमा देशको राजनीतिक भविष्य पनि सुध्रिनेछ भनेर राजनीतिज्ञदेखि ख्यातिप्राप्त हरकोही व्यक्तिलाई अरुण स्वामीले ओशो तपोवनमा निम्ता गर्नुभएको छ। प्रकृतिले धनी देश नेपालको गरिव अवस्थाप्रति चिन्ता गरी रहनुहुन्छ, राजनीतिज्ञहरूसँग भेट हुँदा उपयुक्त सल्लाह दिइरहनुभएको हुन्छ। लामो समय ध्यान र तपस्या गरेका योगीसँग आध्यात्मिक शक्ति हुनु कुनै नौलो कुरा हैन। नेपाललाई समृद्ध बनाउने उपयुक्त पात्र फेला परेमा पक्कै पनि अरुण स्वामीको प्रेम र स्नेह उसले पाउनेछ।
अरुण स्वामीसँग मानिसहरूको विभिन्न आध्यात्मिक अनुभूतिहरु हुने गरेका छन्। उहाँसँग ध्यान गर्दा अतिरेकमा जाने, ध्यान गहिरो हुने, आनन्दको वर्षा महसुस हुने गरेको छ। ओशोको ध्यानको मार्गमा यति आनन्द प्राप्त हुन सक्छ भनेर स्वामी आनन्द अरुणकै सन्निकट हामीले महसुस गर्ने मौका पाएका छौँ।
बोधिसत्वको निकटता र उत्प्रेरणा धेरैभन्दा धेरै मानिसहरूले अनुभूत गर्न पाउन। अन्तर आनन्दले विभोर उहाँको मुस्कान जति दिन बढि यस धर्तीमा फैलिन्छ त्यतिनै बढि मानिसले आनन्द महसुस गर्ने छन्। हामी उहाँको जन्मदिवसको शुभकामना दिँदै उहाँको स्वास्थ्य र दीर्घजीवनको ओशोसँग प्रार्थना गर्दछौं ।
जय ओशो।