मलेखु । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक शुक्रबार बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ।
नेपालगञ्जबाट काठमाडौंतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ। काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९ च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो। कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन्। बसमा ४५ जना यात्री थिए। सबै यात्रीको अवस्था सामान्य छ।
गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।